Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा, करण केसीको ह्याट्रिक

लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा, करण केसीको ह्याट्रिक

  • बिहिवार, चैत्र १७ २०७८

  • 646
    SHARES

  • लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा, करण केसीको ह्याट्रिक

    काठमाडौं । आयोजक नेपाल लगातार तेस्रो जित निकाल्दै त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

    करण केसीले ह्याट्रिक विकेट लिएको खेलमा बिहीबार पपुवा न्युगिनी (पीएनजी) लाई ३७ रनले हराउँदै नेपाल एक खेल अगाबै फाइनल पुगेको हो ।

    यससँगै नेपालले आफ्नो ५० औं टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा सुखद नतिजा निकालेको छ ।

    त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ६६ रन मात्र बनाउन सक्यो ।

    पीएनजीका चार्ल्स अमिनीले सर्वाधिक ६२ रनको अर्धशतकीय इनिङ खेले । उनले ४७ बलमा ९ चौका प्रहार गरे ।

    खराब सुरुवात गरेको पीएनजीलाई तेस्रो विकेटको लागि चार्ल्स अमिनी र टोनी उराले ८४ रनको साझेदारी गरेपछि खेलमा फर्काएका थिए ।

    २२ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै आक्रामक ४३ रन बनाएका टोनी उरालाई सोमपालको ओभरमा आउट भए।

    पहिलो ओभरमा करण केसीले लेगा सिएकालाई आउट गर्दै बलिङमा राम्रो सुरुवात दिलाए । कारणले लेगालाई १ रनमा आउट गर्दा टी(ट्वान्टी अन्तराष्ट्रियमा आफ्नो ५० विकेट पूरा गरे ।

    सन्दीप लामिछानेपछि टी(ट्वान्टी अन्तराष्ट्रियमा ५० विकेट लिने करण पहिलो नेपाली खेलाडी बने ।

    तेस्रो ओभरमा १३ रन बनाएको पीएनजीलाई करणले दोस्रो झट्का दिए । उनले कप्तान असद भालालाई १ रनमा आउट गर्दै नेपाललाई सानदार सुरुवात दिलाए । नोरमान भानुअले १७ रन बनाउँदा सेसे बाउले २५ रनको योगदान गरे। रिले हेकुरे ६ र चाड सोपर २ रनमा आउट भए ।

    नेपालको जितमा करणले ह्याट्रिकसहित ५ विकेट लिए । उनले १९ औं ओभरको दोस्रो, तेस्रो र चौंथो बलमा विकेट लिदै ह्याट्रिक पूरा गरे ।

    अविनास बोहरा र सोमपाल कामी समान २-२ विकेट लिए । सन्दीप लामिछानेले १ विकेट हात पारे ।

    यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।

    दिपेन्द्र सिंह ऐरी र डेब्यु खेलाडी आदील अन्सारीले आक्रामक इनिङ खेलेपछि नेपालले २ सय रनको स्कोर पार गरेको हो ।

    नेपालले अन्तिम ३ ओभरमा ६० रन जोड्यो । दिपेन्द्रले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ६६ रनको आक्रामक अर्धशतकीय इनिङ खेले ।

    यस्तै आदीलले ११ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै ३१ रन बनाए ।

    त्यस्तै रोहित पौडेलले २३ बलमा २ छक्का र ४ चौकाको मद्दतमा ४१ रन जोडे । आसिफ शेखले २९ बलमा ३८ रन बनाउँदा कुशल भुर्तेलले १७ रनको योगदान गरे ।

    पीएनजीका काबुअ मोरेअले ३ विकेट लिए । उनले अन्तिम ओभरमा नेपालको ३ विकेट लिएका थिए । यस्तै रिले हेकुरेले २ तथा नोरमान भानुअ र नोसाइना पोकानाले समान १र१ विकेट लिए ।

    जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ ।

    सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराएको थियो ।

    यस्तै नेपालले दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो ।

    पीएनजीले ३ खेलमा अंक जोड्न सकेको छैन । पीएनजी पुछारमा रहेको छ ।

    मलेसिया २ खेलमा २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।


    बिहिवार, चैत्र १७ २०७८०४:१३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij