काठमाडौँ । सत्तारुढ गठबन्धनले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । मंगलबार (आज)बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले संयोजक पौडेलसहित १० सदस्यीय समिति गठन गरेको हो ।
उक्त समितिमा पाँच दलका प्रतिनिध नेताहरुमा काँग्रेसबाट महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादी केन्द्रबाट देव गुरुङ, वर्षमान पुन, एकीकृत समाजवादीबाट महासचिव वेदुराम भुसाल र उपमहासचिव विजय पौडेल, जसपाबाट अशोक राई, भौतिकमन्त्री रेणुकुमारी यादव र जनमोर्चाबाट हिमलाल पुरी सदस्य रहेका छन् ।
आज बनेको समितिले स्थानीय तहमा कसरी तालमेल भइरहेको भनेर अनुगमन गर्ने छ । केन्द्रले गरेको निर्देशन र निर्वाचन संयन्त्रले गरेका निर्णय लागू भए नभएको अनुगमन गर्ने छ । समितिको बैठक बुधबार बस्ने छ ।
यसैगरी सत्ता गठबन्धनका नेताहरुले अर्थतन्त्रमा देखिएका समस्या सुधारका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले कोभिडपछि धरमराएको अर्थतन्त्र सुधारका लागि विज्ञहरुसँग छलफल गरेर अगाडि बढ्ने बताएका थिए ।
चुनावी संयन्त्र कस्तो बनाउने भन्नेबारे निर्णय गर्नका लागि प्रदेश, नगरपालिका र वडाबाट प्रतिवेदन आउँदै गरेकाले आगामी छलफलबाट टुंगो लाग्ने जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताईन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले तीनदिने भारत भ्रमणको ब्रीफिङ गरेका थिए । समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष बैठकले निकालेको छ ।