काठमाडौँ । सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि गठबन्धनको प्रारुप तय नभएसम्मका लागि उम्मेदबारको नाम टुंगो नलगाउन निर्देशन दिएको छ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले केन्द्रदेखि स्थानीय तहसम्म गठबन्धन गर्ने मोडल हालसम्म तयार नभएकाले बडादेखि पालिका र नगरको टिकट पाउने व्यक्तिहरुको सूचीलाई अहिले रोक्न निर्देशन दिइएको बताए।
आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन पार्टीका वडा, पालिका, क्षेत्रीय र जिल्ला कार्यसमितिहरूले छलफल अगाडि बढाइरहेका बेला कांग्रेसले मौखिक रुपमा सर्कुलर जारी गरेको हो।
कांग्रेस केन्द्रीय कार्यालय सानेपाले उम्मेदवार सिफारिससम्बन्धी कामहरु तत्कालका लागि यथास्थितिमा राख्न निर्देशन दिएको पौडेलले बताए।
पार्टीले गठबन्धनबारे निर्णय गरेको र त्यसको अन्तिम खाका सार्वजनिक नगरेकाले यस्तो सर्कुलर गरिएको उनले बताए।