काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैशाख ३० मा निर्धारित स्थानीय तहको निर्वाचन सर्न सक्ने संकेत गर्नुभएको छ ।
नेकपा एसको दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले २०७४ असोजमा निर्वाचित जनप्रतिनिधिको ५ वर्ष काम गर्न पाउने संवैधानिक अधिकार बैशाखमै चुनाव हुँदा हनन् हुने बताउनुभयो । तर अहिलेका लागि वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको तयारीमा जुट्न उहाँले कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ ।
संविधानले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल ५ वर्षको हुने व्यवस्था गरेको तर निर्वाचन आयोगले असोजसम्ममा ५ वर्ष कार्यकाल पूरा हुनेहरूको भावनाको विपरीत चुनाव मिति घोषणा गरेको कुरा उठेको भन्ने प्रश्न आइरहेको भए पनि वैशाख ३० गतेको तयारीमा जुट्न उहाँले भन्नुभएको छ ।
उहाँले निर्वाचन आयोगले वैशाखमा नै निर्वाचन घोषणा भएकोप्रति इंगित गर्दै भन्नुभयो, ’असोजमा ५ वर्ष पूरा हुनेहरूको प्रश्नको जवाफ कसले दिने ? उहाँहरूको संवैधानिक अधिकारको हरण भएको छ । यो चुनाव असोज महिनामा ५ वर्ष पुग्नेहरूको भावनाको विपरीत छ ।’
सर्वोच्च अदालतमा महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सन्जिवकुमार सिंहले दायर गरेको रिटको सुनुवाइको पेशी वैशाख २ गते तोकिएको छ । उहाँले ५ वर्षे कार्यकाल पूरा गर्न पाउनुपर्ने भन्दै दायर गर्नुभएको रिटमा अन्तरिम आदेश नदिए पनि अदालतले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।