काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रका समष्टिगत सामान्य रहेको दाबी गर्नुभएको छ । बाह्य क्षेत्रमा केही दबाब हुनुबाहेक अर्थतन्त्रका अन्य परिसूचकहरू सामान्य रहेको अर्थमन्त्री शर्माले बताउनुभएको हो ।
देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिन भन्दै सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले वाह्य क्षेत्रमा देखिएको दबाब समाधान गर्न आयात व्यवस्थापन र विदेशी विनिमय सञ्चितिलाई बढावा दिनेगरी कदम चालिएको बताउनुभएको छ ।
गत आर्थिक वर्षमा कोरोना महामारीलगायत कारणले लक्ष्यअनुसार आर्थिक वृद्धि हासिल नभएपनि चालू आर्थिक वर्षमा वृद्धिदरमा सकारात्मक प्रभाव पर्ने देखिएको अर्थमन्त्रीले दाबी गर्नुभएको छ । सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ ।
कोरोना महामारीका कारण प्रभावित आर्थिक गतिविधि सामान्यीकरण हुँदै गएको, २०७६ फागुनको तुलनामा २०७८ कात्तिक महिनामा करिब ९८ प्रतिशत उद्योग÷व्यवसाय सञ्चालनमा आएको, उद्योग दर्ता र प्रत्यक्ष वैदेशिक रोजगारीमा पनि सुधार हुँदै गएको अर्थमन्त्रीले उल्लेख गर्नुभएको छ । यसका कारण पनि आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पर्ने उहाँले बताउनुभएको हो ।
अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रबारे गलत हल्ला फैलाएर राजनीतिकरण गरिएको समेत बताउनुभयो । उहाँले नेपालको अर्थतन्त्र सकारात्मक दिशातर्फ जाने समेत बताउनुभएको छ ।
यसैबिच, अर्थमन्त्री शर्माले गभर्नर महाप्रसाद अधिकारीको निलम्बनबारे छानविन कमिटीले रिपोर्ट पेश गरेपछि सवै कुरा थाहा हुने बताउनुभएको छ । पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले गभर्नरको कानुनसम्मत निलम्बन भएको दाबी गर्नुभयो ।
उहाँले छानविन कमिटी बनिसकेको अवस्थामा गभर्नर निलम्बनबारे धेरै कुरा भन्न नमिल्ने बताउनुभयो । उहाँले छानबिन कमिटीले एक महिनाभित्र रिपोर्ट दिएपछि सवै कुरा सार्वजनिक हुने पनि बताउनुभएको छ ।