काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० को स्थानीय चुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्को चैत १७ को सिफारिस र मन्त्रिपरिषद्को चैत २४ को सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालन गर्न स्वीकृत दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
विज्ञप्तिअनुसार निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरू एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न सेना परिचालन गरिने भएको हो ।
राष्ट्रपति भण्डारीबाट सेना परिचालन गर्न स्वीकृति दिएसँगै ७ सय ५३ स्थानीय तहमै निर्वानच सुरक्षाका लागि सेना खटाउने बाटो खुलेको छ ।
निर्वाचनमा १ लाख म्यादीसहित चारवटै सुरक्षा निकायबाट कार्यरत जनशक्तिमध्ये ८० प्रतिशतभन्दा बढी सुरक्षाकर्मी निर्वाचन सुरक्षामा केन्द्रित गर्ने सरकारको कार्ययोजनामा उल्लेख छ ।
