काठमाडौँ । सरकारले अमेरिकाबाट अनुदानमा उपलब्ध हुने करिब ८० अर्ब रुपैयाँ स्वीकार गर्ने निर्णय गरेको छ । अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (यूएसएड)बाट प्राप्त हुने ६५९ मिलियन अमेरिकी डलर (७९ अर्ब ७१ करोड) रुपैयाँ स्वीकार गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभएको छ ।
बुधबार (चैत ३० गते) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता रकम पनि स्वीकार गर्ने निर्णय भएको कार्कीले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्ले फुटकोर्ट कर्णाली अर्धजलशाययुक्त जलविद्युत आयोजनाको लागि कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाको करिब २ सय ८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय गरेको छ ।
मायादेवी गाउँपालिकालाई आधारभुत अस्पताल, गाउँपालिकाको प्रशासकीय भवन लगायत कार्यका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने र कर्जान्हा नगरपालिका सिरहालाई प्रशासकिय भवन निर्माण गरी प्रयोग गर्नका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृत दिने निर्णय भएको पनि प्रवक्ता कार्कीले बताउनुभयो ।
त्यस्तै राष्ट्रिय आवास कम्पनि लिमिटेडको अध्यक्ष रामआधार कापारको राजीनामा स्वीकृत गर्ने निर्णय पनि भएको छ ।
मन्त्रिपरिषद्का निर्णय पढ्नुहोस्:
