काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र अन्य साना दलको चुनावी गठबन्धनलाई ‘राजावादी होलीवाइन गठबन्धन’को संज्ञा दिएका छन् ।
सोमबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले सत्तारूढ ५ दलीय गठबन्धन प्रगतिशील लोकतान्त्रिक गठबन्धन भएको र नेपाल एमालेले नेतृत्व गरेको चुनावी गठबन्धन प्रतिगमनकारी भएको आरोप लगाएका हुन् ।
सत्तारूढ गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्न खोज्नेको बीचमा भएको प्रचण्डको दाबी छ । ‘गठबन्धनका पार्टीका अनुहार राम्रोसँग हेर्नुभयो भने कुन गठबन्धन लोकतन्त्र, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर र कुन त्यसलाई उल्ट्याउन खोज्ने हो भन्ने देखिन्छ,’ प्रचण्डले भने, ‘वामपन्थीहरूको वर्चस्व भएको प्रगतिशील लोकतन्त्रवादी गठबन्धन कुन हो, कुन होइन भन्ने त छ्याङ्गै देखिएकै छ ।’
प्रचण्डले एमालेले गरेको गठबन्धनलाई संविधानको विरुद्धमा लाग्नेहरूको भएको आरोप लगाए । प्रचण्डले भने, ‘हिजोका सामन्त, राजामहाराजा र उनीहरूसँग सम्बन्धित पार्टीहरूसँग गठबन्धन गर्न खोज्ने, लोकतन्त्रवादी, गणतन्त्रवादीहरूसँग भन्दा प्रतिगामी शक्तिहरूसँग गठबन्धन गर्न खोज्ने प्रवृत्ति छ ।’
राष्ट्रको आवश्यकताअनुसार नै ५ दलीय गठबन्धनमा चुनावी तालमेल हुन लागेको भन्दै प्रचण्डले महानगर र उपमहानगरको नेतृत्वबारे गठबन्धन सहमतिनजिक पुगेको बताए । उनले माओवादीले भरतपुरमा मात्रै दाबी नगरेको बताए । उनले भरतपुरको सट्टा काठमाडौं वा विराटनगर महानगरको प्रमुख लिन तयार रहेको समेत बताएका छन् ।
तर, भरतपुर माओवादीले जितेको भएर कांग्रेसले पनि भरतपुर माओवादीलाइ नै छाड्न खोजेको प्रचण्डको भनाइ छ ।
अध्यक्ष प्रचण्डले गठबन्धनले औपचारिक निर्णय गरिसकेपछि दलगत असन्तुष्टिले खासै असर नपर्ने बताए । प्रचण्डले ५ दलबीच तालमेल हुँदा केही असन्तुष्टि देखिएपनि त्यसले परिणाममा असर नपर्ने दाबी गरे ।