काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७५३ वटै स्थानीय तहका लागि एक लाख ४४ हजार ४१६ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन आयोगले आज मध्यान्ह साढे १२ बजे सार्वजनिक गरेको विवरणअनुसार आइतबार र सोमबार गरी यो संख्यामा उम्मेदवारी दर्ता भएको हो । यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो ।
स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि निर्वाचन हुँदैछ । २०७४ को स्थानीय तहको निर्वाचनमा एक लाख ४४ हजार ४१६ जनाले उम्मेदवारी दिएका छन् ।
आयोगको प्रणालीमा अद्यावधिक भएको पछिल्लो सूची अनुसार प्रमुखमा ३ हजार ३७५, उपप्रमुखमा २ हजार ६९ मनोनयन दर्ता भएको छ । यस्तै अध्यक्षमा ३ हजार ३३४, उपाध्यक्षमा २ हजार ३६४ मनोनयन दर्ता भएको छ ।
त्यस्तै, वडा अध्यक्षमा वडाध्यक्षमा ३३ हजार ७९७, महिला सदस्यमा २३ हजार ७९२, दलित महिला सदस्यमा २२ हजार ४४० र खुला सदस्यमा ५२ हजार २४५ मनोनयन दर्ता भएको छ ।
आज उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले भनेको छ । र, १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।
