काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टी तथा सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी निष्क्रिय पार्न आह्वान गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्न विद्रोही उम्मेदवारलाई आह्वान गरेका छन्।
'पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक वनेका पार्टी सदस्यले आफ्नो उम्मेदवारीप्रति पुर्नविचार गरी सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निष्क्रिय गरिदिनु हुन र आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुनु हुन निर्देशानुसार अनुरोध गरिएको छ,' पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
