काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेको तत्कालीन सरकारले जनताको चाहना बमोजिम काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।
प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको मत माग्ने अधिकार पनि गुमिसकेको स्पष्ट पार्नुभएको छ ।
गत ५ वर्षमा नेपाल कम्युनिष्ट पार्टीका विभिन्न घटकहरुले गरेको उपलब्धिको बारेमा जानकारी गराउनु पर्ने पनि थापाको भनाइ छ । महामन्त्री थापाले २०७४ साल यताको ५ वर्ष कम्युनिष्टले सरकार चलाएको र यो समय खेर फालेको आरोपसमेत लगाउनुभयो ।
उहाँले कम्युनिष्ट नेता र पार्टीहरुले खेर फालेको ५ वर्षको समयका लागि जनतासमक्ष माफी माग्नुपर्ने बताउनुभयो । महामन्त्री थापाले अबको ५ वर्ष नेपाली कांग्रेसलाई सबै तहको सरकारको जिम्मा दिनुपर्ने बेला आएको पनि बताउनुभयो ।
समुन्नत नेपाल निर्माण गर्ने संकल्प नेपाली कांग्रेससँग रहेको थापाको स्पष्टोक्ति छ । विगतका ५ वर्षमा कम्युनिष्टहरुले खेर फालेको समयको क्षतिलाई कांग्रेसले पूरा गर्ने गरेर काम गर्ने दाबी गर्नुभयो ।
महामन्त्री थापाले यसपटकको स्थानीय निर्वाचनमा कांग्रेसबाट जित्ने सदस्यहरुले श्रोत, साधनको अपचलन नगर्ने दाबी गर्नुभयो । कुनै पनि ठाउँमा विधि मिचेर मनलाग्दी श्रोत, साधनको दुरुपयोग नगर्न पनि थापाले कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ ।