काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र अनिवार्य छ वा नागरिकताको प्रतिलिपिबाट पनि मतदान गर्न पाईन्छ भन्ने विषयमा मतदाता अन्यौलमा देखिएका छन् ।
यसअघि २०७४ सालमा सम्पन्न निर्वाचनमा मतदाता नामावलीमा नाम भएका तर परिचय पत्र नभएका मतदाताले नागरिकताको प्रतिलिपिबाट मतदान गर्न मिल्ने व्यवस्था थियो जसका कारण यस पटक पनि सोहि व्यवस्था छ वा छैन भन्ने विषयले मतदातामा अन्यौलता देखिएको हो । यता निर्वाचन आयोगका सह प्रवक्ता सुर्यप्रसाद अर्यालका अनुसार उक्त विषयमा अहिलेसम्म आधिकारिक निर्णय भईसकेको छैन ।
सहप्रवक्ता अर्यालले मतदाता परिचय पत्र हराएको खण्डमा बुधवार (आज) र बिहिवार (भोलि) बनाउन मिल्ने बताएका छन् । उनले नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै भने,'हालसम्म नागरिकताको प्रतिलिपिबाट मतदान गर्न पाउने आधिकारिक निर्णय भइसकेको छैन । मतदाता परिचयपत्र नै चाहिने भन्ने छ । हराएको खण्डमा बुधवार (आज) र बिहिवार (भोलि)सम्म नयाँ बनाउन मिल्छ ।'