Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सर्लाहीमा झडप भएका मतदान केन्द्रमा सेना खटाइयो

सर्लाहीमा झडप भएका मतदान केन्द्रमा सेना खटाइयो

  • शुक्रवार, बैशाख ३० २०७९

  • 1.1K
    SHARES

  • सर्लाहीमा झडप भएका मतदान केन्द्रमा सेना खटाइयो

    काठमाडैं - केही मतदान केन्द्रमा झडप भएर मतदान प्रभावित भए पनि सर्लाहीका अधिकांश मतदान केन्द्रमा मतदान जारी छ ।

    सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले मतदान नै प्रभावित हुने गरी झडप भएका स्थानमा नेपाली सेनालाई अग्रभागमा खटाइ मतदान कार्य जारी राखिएको जानकारी दिएका छन् ।

    गौतमका अनुसार अहिले चक्रघट्टा गाउँपालिकास्थित शिवनगरको रासनारायण प्राथमिक विद्यालयमा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि त्यहाँ मतदान रोकिएको छ । प्रहरीले हवाई फायर गरी स्थित नियन्त्रणमा लिएको छ ।

    यस्तै, बरहथवा नगरपालिका-१७, श्रीपुरमा पनि विवादका कारण मतदान रोकिएको छ । ती दुवै ठाउँमा मतदान सुरु गराउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।

    झडप भएर दुई पटक रोकिएको धनकौल गाउँपालिका-२, पशु सेवा केन्द्र मतदान केन्द्रमा भने अहिले मतदान जारी छ । त्यहाँ पनि राजनैतिक दलका नेता कार्यकर्ताबीच पटक-पटक झडप हुँदा प्रहरीले एक दर्जन बढी राउण्ड हवाई फायर गरिसकेको छ ।

    झडप नरोकिएपछि नेपाली सेनालाई पहिलो घेरामै राखेर मतदान भइरहेको छ । नेपाली सेनाले स्थित नियन्त्रणमा लिएपछि कौडेना गाउँपालिका–६, मा रहेको जनता आधारभूत विद्यालयको मतदान केन्द्रमा पनि अहिले मतदान जारी छ । सेना पुगेपछि त्यहाँको अवस्था अहिले सामान्य छ ।

    यस्तै, रामनगर गाउँपालिकास्थित पुरानो गाविस। भवन मतदान केन्द्रमा दिउँसो केहीबेर रोकिएको मतदान अहिले भने जारी छ । मतदान केन्द्रमा ढुङ्गामुढा प्रहार भएपछि प्रहरीले केही राउण्ड हवाई फायर गरेको थियो ।

    त्यसैगरी, मतदान अधिकृतले नै मतदान गर्न सिकाएको भन्दै विरोध भएपछि बलरा नगरपालिका-३को गाविस भवन मतदान केन्द्रमा सहायक मतदान अधिकृतलाई जिम्मेवारी तोकेर मतदान सुरु गरिएको छ ।

    यी दुई–चार ठाउँबाहेक सर्लाहीका अन्य मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको सर्लाहीका मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार पियाले जानकारी दिनुभयो ।

    पानी पर्दा धेरैजसो मतदान केन्द्रमा दिउँसो केहीबेर मतदान प्रभावित भएको थियो । ५ बजेसम्म लाइनमा आएर बस्नेलाई मतदान गर्न दिइने मुख्य निर्वाचन अधिकृत पियाले बताउनुभयो ।

    मतदान सम्पन्न भएपछि सबै स्थानका मतपेटिका गाउँपालिका तथा नगरपालिकाको कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा जम्मा पारिने छ ।


    शुक्रवार, बैशाख ३० २०७९०४:५१:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij