काठमाडौं - स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ । जसमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।
देशभरका ७ सय ५३ वटा स्थानीय तह मध्ये ५ सय ८७ पालिकाको मत परिणाम सार्वजनिक हुँदा नेपाली काँग्रेसले फराकिलो अग्रता बनाएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा माओवादीसँग तालमेल गरेर पनि दोस्रो पार्टी भएको काँग्रेसले २०७९ मा आइपुग्दा नतिजामा सुधार गरेको छ ।
अहिले पनि माओवादीसहित ५ दलीय गठबन्धन गरेर निर्वाचनमा गएको कंग्रेसले यो समाचार तयार पार्दासम्म देशभर २ सय ६१ स्थानीय तहमा जित हासिल गरेको छ । कांग्रेसले २ सय ६१ पालिकामा प्रमुख÷अध्यक्ष, २ सय ४४ स्थानमा उप–प्रमुख÷उपाध्यक्ष पदमा विजय हासील गरेको छ । तयारी राम्रो भए थप मजबुद परिणाम आउने थियो भन्नुहुन्छ नेता चन्द्र भण्डारीको ।
अघिल्लो स्थानीय तह निर्वाचनमा पहिलो स्थान ओगटेको एमालेको नतिजा भने खस्किएको छ । स्थानीय तह निर्वाचन २०७४ मा सबैभन्दा बढी स्थानीय तहमा जित हासील गरेको एमालेले करिब आधा स्थानीय तह गुमाउँदै यसपटक दोस्रो स्थानमा खुम्चिएको हो । ०७४ मा सबैभन्दा धेरै २ सय ९४ स्थानीय तहमा प्रमुख÷अध्यक्ष तथा ३ सय ३१ पालीकामा उपाध्यक्ष÷उप–प्रमुख जितेको एमाले अहिले क्रमशः १ सय ६७, १ सय ८१ स्थानमा झरेको छ ।
मुख्य प्रतिस्पर्धामा देखिएका पार्टीमध्ये माओवादी केन्द्रले जनमतमा केही सुधार गरेको देखिएको छ । पाँच दलीय गठबन्धनमा आवद्ध भई चुनावमा होमिएको माओवादीले थप पालिकामा जित हात पार्न सफल भएको हो ।
०७४ को निर्वाचनमा १०६ स्थानमा प्रमुख तथा अध्यक्ष र १ सय १४ उपप्रमुख तथा उपाध्यक्ष जितेको माआवादीले झण्डै ८० प्रतिशत मतगणना हुँदा नै १०६ पालिकामा जित हासील गरेको छ भने अझै १३ पालिकामा अग्रता कायमै छ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने अहिलेको मतपरिणामको निर्मम समिक्षा गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
राजनीतिक विश्लेषक दिनेश त्रिपाठीका अनुसार कांग्रेसले स्थायीत्वको राजनीति गरेकोले सम्मानजनक मतपरिणाम ल्याएको र एमालेले हार स्वीकार नगर्नु संर्किण सोच रहेको दाबी गर्नुभयो ।
पहिलो चरण अन्तर्गत ३ प्रदेशहरूको ३४ जिल्लाको २ सय ८३ स्थानमा भएको निर्वाचन परिणाममा एमाले अगाडि थियो । भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको थियो ।
दोस्रो चरण अन्तर्गत ३ प्रदेशहरूको ३५ जिल्लाका ३ सय ३४ स्थानमा भएको निर्वाचन परिणाममा एमाले अग्रस्थानमा रहेको थियो भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको थियो ।