Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सावधान! म बलियो छु भन्दै कोरोना लागे पनि निको हुने भ्रममा नपर्नुस्

सावधान! म बलियो छु भन्दै कोरोना लागे पनि निको हुने भ्रममा नपर्नुस्

  • आइतवार, श्रावण ३२ २०७७

  • 813
    SHARES

  • सावधान! म बलियो छु भन्दै कोरोना लागे पनि निको हुने भ्रममा नपर्नुस्

    काठमाडौँ – सरकारले म बलियो छु भन्दै कोरोना लागेपनि निको भैहाल्छ भन्ने भ्रममा नपर्न चेतावनी दिएको छ। कोरोना भाइरसले सबै उमेरका मानिसहरुलाई उत्तिकै हमला गरिरहेको उल्लेख गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मलाई कुनै रोग छैन र कोरोना लागि हालेमा पनि ठीक भैहाल्छ भन्ने भ्रममा परेर लापर्वाही नगर्न चेतावनी जारी गरेको हो।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोरोनाको औषधि पत्ता नलागेको र सबै उमेरका मानिसहरुमा आक्रमण गरिरहेकोले पर्याप्त सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले कोरोना भनेको बाहिरबाट आउने व्यक्तिलाई मात्रै लाग्ने रोग हो भन्ने खालको भ्रम पनि कतिपय व्यक्तिहरुमा रहेकोले त्यस्तो भ्रमबाट मुक्त भएर उच्च सावधानी अपनाउन आग्रह गर्नुभयो।

    प्रवक्ता डा. गौतमले मानिसले बाहिरबाट सोचे जस्तो कोभिड संक्रमणसँग जुध्न सक्ने क्षमता हाम्रो शरीरमा नहुन पनि सक्ने खतरालाई मनन गर्न आग्रह गर्नुभयो । धेरै मानिसहरुले अहिले आफूले चिनेजानेका व्यक्तिहरुमा कोरोना संक्रमण छैन होला भन्ने भ्रम राखेर व्यवहार गरिरहेकोमा पनि त्यस्तो नगर्न प्रवक्ता डा. गौतमले आग्रह गर्नुभयो ।

    उहाँले हरेक व्यक्ति कोभिड संक्रमित भएको हुन सक्ने शंका गरेर आफ्नो आनीबानीमा सुधार ल्याउन आग्रह गर्नुभयो । पर्याप्त स्वास्थ्य सावधानी नअपनाए संक्रमितको संख्या ह्वात्तै बढेर गम्भीर खालका बिरामीले पनि उपचार सेवा नपाउने अवस्था निम्तिन सक्ने खतरा रहेको डा. गौतमले बताउनुभयो ।

    यसैबीच सरकारले अब कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि पहिलको जस्तो लकडाउन जारी नगर्ने स्पष्ट पारेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले कोरोना महामारीसँग जुध्दै भिड्दै अर्थतन्त्र चलायमान बनाउनुको विकल्प नरहेको बताउनुभयो । उहाँले लकडाउन गरेर देशलाई आर्थिक संकटतर्फ धकेल्न सक्ने अवस्था नरहेकोले सावधानी अपनाउँदै अर्थतन्त्र चलायमान पारेर कोरोनाको सामना गर्ने नीति सरकारले लिएको जानकारी दिनुभयो ।

    नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ भने मृत्यु हुनेहरुको ग्राफ पनि उकालो लागिरहेको छ । अहिलेसम्म मृत्यु हुने अधिकांश व्यक्तिहरु कुनै न कुनै अन्य रोगबाट ग्रसित रहेको पाइएकोले पनि निरोगी व्यक्तिहरुले आफूलाई कोरोना लागे पनि निको भैहाल्ने भ्रम पालेर बसिरहेका छन् ।

    तर कोरोना भाइरसको संक्रमणले निरोगी व्यक्तिलाई पनि उत्तिकै आक्रमण गर्न सक्ने स्वास्थ्य अधिकारीहरु बताउँछन् । आनीबानीमा सुधार ल्याएर कोरोना संक्रमणबाट जोगिनु नै अहिलेका लागि सबैभन्दा ठूलो चुनौती रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाई छ । उहाँले आनाबानीमा सुधार नगर्ने तर लकडाउन मात्रै जारी गर्ने हो भने त्यसले महामारी रोकथाममा कुनै योगदान गर्न नसक्ने बताउनुभयो।

    तर कोरोना महामारीबाट बढी प्रभावित भएका क्षेत्रमा कडा खालको लकडाउन गर्नैपर्ने कतिपय स्वास्थ्य विज्ञको तर्क छ । उनीहरुले काठमाडौँ उपत्यकासहित बढी प्रभावित तराईका केही जिल्लामा कम्तीमा पनि तीन हप्ता कडा खालको लकडाउन जारी गरे ७५ प्रतिशत संक्रमण रोक्न सकिने तर्क दिएका छन् । जनस्वास्स्थ्यविज्ञ डा. रविन्द्र पाण्डेयले काठमाडौँसहित तराईका केही जिल्ला र बढी प्रभावित अन्य पहाडी जिल्लामा तत्काल लकडाउन गरे ७५ प्रतिशत संक्रमणको फैलावट रोक्न सकिने दाबी गर्नुभयो ।

    विश्वव्यापी संकटका रुपमा देखा परेको कोरोना भाइरसको संक्रमणका कारण नेपालमा मृत्यु हुनेहरुको संख्या दिनदिनै बढिरहेको छ । कोरोनाको कुनै खोप तथा औषधि पत्ता लागि नसकेकोले यसबाट बच्न जनस्वास्थ्य मापदण्डहरु पालना गर्नु एक मात्रै उपाय हो ।


    आइतवार, श्रावण ३२ २०७७०८:२३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij