काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी दरमा बढाएको छ । आइतबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, ग्यास र मट्टितेलको मूल्य ह्वात्तै बढाएको छ ।
नेपाल आयल निगमले विगत केही महिना भित्रै पेट्रोल, डिजेललगायतका पेट्रोलियम पदार्थको मूल्य अत्याधिक बढाएको हो । आखिर किन बारम्बार पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुन्छ त ?
नेपालमा पेट्रोलियम पदार्थको मूल्य आन्तिरक कारण, अन्तर्राष्ट्रिय बजार मूल्य एवम् इन्डियन आयल कर्पोरेशन (आईओसी) मा आधारित हुन्छ । मूख्यतः अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको खण्डमा नेपाल स्वतः मूल्यवृद्धि हुने गर्छ ।
नेपालले भारतको इन्डियन आयल कर्पोरेशन (आईओसी)सँग इन्धन खरिद गरेर मुलुकमा बिक्रीवितरण गर्छ । त्यसैले नेपालको पेट्रोलियम पदार्थको मूल्य आईओसीले तय गरेकै मूल्यमा आधारित हुन्छ ।
नेपाली बजारमा इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्यसँगै आईओसीको मूल्यमा पनि निर्भर हुन्छ । आईओसीले नेपाल आयल निगमलाई हरेक १५ दिनमा नयाँ समायोजित मूल्य पठाउने गर्दछ । त्यसअनुरुप नेपालले पनि आवश्यकता अनुसार मूल्य समायोजन गर्दछ ।
हाल पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनुमा रुस र युक्रेनबीचको जारी युद्ध पनि एक कारण हो । विगतमा अमेरीकालगायत युरोपेली मुलुकहरुले दैनिक रुपमा रुसबाट अत्याधिक मात्रामा पेट्रोलियम पदार्थको आयात गर्दै आएका थिए तर रुसले युक्रनेलाई आक्रमण गरे पश्चात पश्चिमेली मुलुकहरु रुसप्रति रुष्ट बन्दै रुसलाई आर्थिक प्रतिबन्ध लगाए र रुसबाट पेट्रोलियम पदार्थको आयतमा पूर्ण रुपमा बे्रक लगाए, जसको असर विश्वभरी नै पर्न गयो ।
रुसबाट पश्चिमेली मुलुकहरुले पेट्रोलियम पदार्थको आयत नगर्ने भएपछि इन्धनको उत्पादन र भण्डारण भएका मुलुकहरुले यसको फाइदा उठाउँदै पेट्रोलियम पदार्थको मुल्यमा भारी वृद्धि गरे । रुसको अर्थतन्त्र धेरै हदसम्म पेट्रोल र ग्यासमा निर्भर हुने गर्दछ अर्थात् देशको झण्डै ४० प्रतिशत भन्दा बढी हिस्सा पेट्रोल र ग्यासमै निर्भर छ ।
यस्तो अवस्थामा रुसले भारतलाई एकदमै सस्तो मूल्यमा तेल बिक्री गरिरहेको छ । भारतले पनि रुस र पश्चिमेली मुलुकहरुको द्धन्दको फाइदा उठाउँदै रुससँग सस्तोमा तेल किनेर आफ्नो मुलुकभित्रै तेलको भण्डारण गरिरहेको छ । जसले राज्यको ढुकुटीमा पनि वृद्धि भइरहेको छ ।
भारतले कर वृद्धि गरेर तेलको मूल्य झनै बडाइरहेको छ जसको सीधै असर नेपालमा परिरहेको छ ।