काठमाडौँ – नेपालमा कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ। योसँगै देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १०७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा थप तीन जनाको मृत्यु भएको औपचारिक जानकारी दिएको छ। मृत्यु हुनेमा मोरङ जिल्लाका ६० वर्षीय पुरुष र काठमाडौँकी ५८ वर्षीया महिला छन्।
यस्तै रौटहटका ३२ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यस्तै नेपालमा पछिल्लो चौबिस घण्टामा थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
११ हजार ५ सय २० जनाको पीसीआर परीक्षण गर्दा जम्मा ५८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १६८ जना संक्रमित फेला परेका छन्।
जसमध्ये काठमाडौँमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा १५९ जना डिस्चार्ज भएका छन्।