Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाल पनि मंकिपक्सको उच्च जोखिममा, सर्तकता अपनाउन चिकित्सकको अपिल

नेपाल पनि मंकिपक्सको उच्च जोखिममा, सर्तकता अपनाउन चिकित्सकको अपिल

  • बुधवार, जेठ ११ २०७९

  • 1.4K
    SHARES

  • नेपाल पनि मंकिपक्सको उच्च जोखिममा, सर्तकता अपनाउन चिकित्सकको अपिल

    काठमाडौं । कोभिड–१९ बाट आक्रान्त बनेको नेपाल पुनः अर्को महामारीको चपेटामा पर्छ की भन्ने चिन्ता बढ्न थालेको छ । मध्य र पश्चिम अफ्रिकामा जनावरबाट फैलिएको मंकिपक्स बिस्तारै विश्वका विभिन्न देशमा देखिन थालेको छ । नेपालमा पनि विभिन्न मुलुकहरुबाट हवाइयात्रा हुने भएकोले मंकिपक्सको जोखिम उच्च रहेको चिकित्सकहरुले जनाएका छन् ।

    सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार विभिन्न देशहरुबाट मानिसको आवागमन हुने भएकोले सतर्क रहन आवश्यक छ । मंकिपक्स भएपछि शरिरमा बिमिरा आउने, ठेउलाको जस्तै लक्षण देखिने डा. पुनको भनाइ छ ।

    मंकिपक्स भएपछि ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, थकान महसुश हुने, जीउ सुन्निने, ढाड, टाउको र मांसपेशी दुख्ने गर्दछ । मंकिपक्स कोरोना भाइरसजस्तो तीब्र गतिमा भने नफैलिने छातिरोग विशेषज्ञ डा. निरज बम बताउनुहुन्छ ।

    विश्वमा फैलिरहेको मंकीपक्सबाट नेपालमा पनि खतरा हुनसक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । मंकीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने मन्त्रालयको भनाइ छ ।

    विदेशबाट आउने नेपाली र विदेशी नागरिकले कम्तिमा दुई हप्ता अनिवार्य क्वारेन्टाइनमा बस्ने, सकेसम्म बाहिरी कुनै पनि सामानहरू नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्न मन्त्रालयले भनेको छ । सरकारले मंकिपक्सको जोखिमलाई लिएर तयारी गरिरहेको र आम सर्वसाधारणहरु आफू पनि सुरक्षित रहनुपर्ने स्वास्थ्य राज्यमन्त्री भवानी खापुङको भनाइ छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९७० मा कंगोबाट सुरु भएको मंकीपक्स संक्रमण त्यसबेला १० वटा अफ्रिकी मुलुकमा फैलिएको थियो । सन् २००३ मा अफ्रिकी मुलुकहरूबाट आयातित कुकुरहरूको माध्यमबाट अमेरिकामा यो संक्रमण फैलिएको हो ।

    सन् २०१७ मा नाइजेरियामा फैलिएको मंकीपक्सबाट १ सय ७२ जना संक्रमित भएका थिए । मंकीपक्स मध्य र पश्चिमी अफ्रिकी देशहरूका घना जंगलमा रहेका जनावरहरूको सम्पर्कमा आउने मानिसहरूमा हुनसक्ने भाइरस हो । संक्रमित बाँदर, मुसा लोखर्केजस्ता जनावरहरूसँग नजिक रहेका व्यक्तिमा मंकीपक्स सर्ने सम्भावना उच्च रहेको चिकित्सकहरुको भनाइ छ ।


    बुधवार, जेठ ११ २०७९०८:१६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij