काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५.८४ प्रतिशतले बढ्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण २०७८–७९ अनुसार यस यस वर्ष कोभिडको महामारी कम भएको र उर्जा क्षेत्रको विस्तार उत्साहप्रद रहेका कारण अर्थतन्त्रको आकार ५–८४ प्रतिशतले बढ्न लागेको हो ।
गत आर्थिक वर्षमा अर्थतन्त्रको विस्तार ४.२५ प्रतिशत रहेको थियो । यो तथ्यांक केन्द्रीय तथ्यांक विभागले यसअघि सार्वजनिक गरेको प्रक्षेपणमा आधारित रहेको छ।
आर्थिक वर्ष ०७८–०७९ को कुल ग्रार्हस्थ्य उत्पादन (उपभोक्ताको मूल्यमा) ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँको भएको छ। जसमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ३६.९ प्रतिशत र कर्णाली प्रदेशको अंश सबैभन्दा कम ४.१ प्रतिशत रहने अनुमान गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।