काडमाडौं । लमजुङको मध्यनेपाल नगरपालिका-७ कोइलेनीस्थति मध्यपहाडी लोकमार्गमा टिपर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मध्यनेपालकै कल्याङबेंसीबाट रामबजारतर्फ आउने क्रममा ढुङ्गा लोड भएको टिपर दुर्घटनामा परेर सवार ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय भोर्लेटारका इन्स्पेक्टर लक्ष्मण पचभैयाका अनुसार आइतबार अन्दाजी ३ बजेतिर बा४ख ७७८१ नम्बरको टिपर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर मृत्यु भएकाहरू सबै मध्यपहाडी लोकमार्ग निर्माणमा खटिएकाहरू रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार उद्धार कार्य जारी रहेको र मृतकको पहिचान खुलिसकेको छैन । मृतक सबै पुरुष हुन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीका अनुसार टिपर मध्यपहाडी लोकमार्गको सडकबाट करिब ३० मिटर तल खेतमा खसेको थियो ।
उहाँका अनुसार मृतक ४ जनामध्ये हालसम्म चालकको मात्रै पहिचान खुलेको छ । चालक धादिङको गजुरी गाउँपालिका–६ घर भएका अन्दाजी २७ वर्षका आकाश घिमिरे रहेको उहाँले बताउनुभयो ।
टिपरले च्यापिएर मृत्यु भएकाको शव निकालिएको र उनीहरूमध्ये ३ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।