काठमाडौं । नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले एमसीसी पास गर्ने क्रममा संसदले पास गरेको १२ बुँदे व्याख्यात्मक घोषणाबारे अमेरिकाले एक शब्द नबोलेको बताउनुभएको छ ।
आगामी आर्थिक वर्ष २०७९-८० को बजेटमाथि मंगलबारदेखि राष्ट्रिय सभामा सुरु भएको छलफलमा भाग लिँदै श्रेष्ठले बजेटमा लप्सीफेदी-रातमाटे-हेटौंडा-दमौली-बुटवल-गोरखपुर ४ सय केबीको प्रसारण लाइन निर्माण अगाडि बढाइने उल्लेख भएको तर, एमसीसी योजना अन्तर्गत हो वा एमसीसी खारेज भएको अर्थमा बुझेर अर्थमन्त्रीले आफैंले प्रस्ताव राखेको हो भन्ने प्रश्न गर्नुभएको छ ।
१२ बुँदे व्याख्यात्मक घोषणामा अमेरिकाले सहमति नजनाए स्वतः खारेज हुने उल्लेख रहेको भन्दै उहाँले भन्नुभयो, ‘अमेरिकाले अहिलेसम्म १२ बुँदे व्याख्यात्मक घोषणाको बारेमा एक शब्द बोलेको छैन । त्यसकारणले यो एमसीसी खारेज भएको अर्थमा बुझेर अर्थमन्त्रीले यसरी आफैँले गर्ने प्रस्ताव राख्नुभएको हो भने मेरो व्यक्तिगत तर्फबाट अर्थमन्त्री र सरकारलाई धन्यवाद छ । तर यो के हो प्रस्ट हुनुपर्छ ।’
विकासको निम्ति बढी महत्त्वको कुरा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन भएको तर बजेटमा राम्रोसँग खुल्न नसकेको उहाँले बताउनुभयो ।
भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न नसके पुँजीगत खर्च कार्यान्वयन अघि बढ्न नसक्ने भन्दै उहाँले सरकारले ४÷५ वटा कुरामा ध्यान दिन नसकेको बताउनुभएको छ ।
नेपालको विकासको निम्ति झनै बढी महत्त्वको कुरा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन हो भन्दै उहाँले त्यो बारेमा बजेट वक्तव्य राम्रोसँग खुलेर प्रस्तुत हुने नसकेको बताउनुभयो । साथै उहाँले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण नगरे पुँजीगत खर्च कार्यान्वयन अघि नबढ्ने बताउनुभयो ।