काठमाडौं । नेकपा माओवादी केन्द्रले वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन सुरु गरेको छ ।
काठमाडौंको बत्तिसपुतलिमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूका लागि प्रशिक्षण कार्यक्रम राखिएको हो । कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानुन निर्माणलगायत विषयमा पार्टीका नेता र विज्ञहरूले प्रशिक्षण दिने नेकपा माओवादी केन्द्रले जनाएको छ ।
दुई दिनसम्म चल्ने कार्यक्रममा अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । पार्टीबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख/ उपाध्यक्षसहितका जनप्रतिनिधिलाई जनताको पक्षमा काम गर्न र देशभरमै उत्कृष्ट कामका रुपमा देखाउनका लागि केन्द्रबाट नै प्रशिक्षण कार्यक्रम राखेर प्रशिक्षित गराउन थालिएको हो ।
अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका प्रत्येक प्रदेशबाट एक/एक स्थानीय तहका प्रमुखले अनुभव पनि सुनाउने कार्यक्रम राखिएको छ । प्रदेश नं १ को थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असीम राई, मधेसको बागमती नगरपालिकाका प्रमुख भरत थापा, बागमती प्रदेशको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, गण्डकीको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट, लुम्बिनीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेल, कर्णालीको दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसी र सुदूरपश्चिम प्रदेशको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले आ–आफ्नो अनुभव प्रस्तुत गर्नुहुने छ ।
गत वर्ष सुशासनको क्षेत्रमा सुदूरपश्चिम प्रदेशको अजयमेरु गाउँपालिका र लुम्बिनी प्रदेशको धुर्कोट गाउँपालिका शीर्ष पाँचभित्र परेका थिए ।माओवादीले यसअघि २०७४ सालको निर्वाचनमा विजयी जनप्रतिनिधिलाई पनि तीन दिन पार्टी केन्द्रीय कार्यालयमा प्रशिक्षण गरेको थियो । यस पटक विगतभन्दा परिमार्जित ढंगबाट प्रशिक्षणको आयोजना गरिएको माओवादीले जनाएको छ ।