काठमाडौं । पुँजी बजार सुधारका लागि चार सदस्यीय समिति गठन गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माको पहलमा आज बिहान अर्थ मन्त्रालय, धितोपत्र बोर्डका अध्यक्ष र नेपाल राष्ट्र बैंकका गभर्नर सँगको छलफलपछि धितोपत्र बजारको समस्याको बारेमा सुझाव दिन चार सदस्यीय समिति गठन गरिएको हो ।
समितिमा अर्थ मन्त्रालयका उपसचिव, धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा एक प्रतिनिधि र राष्ट्र बैंकका प्रतिनिधि रहने गरी समिति गठन भएको हो । समितिले सेयर लगानीकर्ताले उठाउँदै आएका समस्या समाधान गर्नका लागि अध्ययन गरी उपयुक्त सुझाव दिनेछ ।
सेयर बजारका समस्या समाधानका लागि कुनै प्रयास नगरिएको भन्दै लगानीकर्ताका विभिन्न सङ्घहरूले सम्बद्ध निकायलाई ध्यानाकर्षण गराउँदै आएका छन् । सेयर धितो कर्जामा राखिएको ४–१२ करोडको सीमा हटाउनुपर्ने, सेयर कर्जाको औसत जोखिम भार १ सय नै कायम गरिनुपर्ने, ब्रोकरको सञ्जाल विस्तार गर्नुपर्ने, गैर आवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउन वातावरण बनाउनुपर्नेजस्ता माग राख्दै आएका छन् ।
पछिल्लो समय अर्थतन्त्रका बाह्य सूचक दबाबमा पर्दा सेयर बजारमा असर परिरहेको छ । मुलुकमा लगानीयोग्य रकमको अभाव, बढ्दो ब्याजदरजस्ता कारणले सेयर बजार ओरालो लागिरहेको छ ।