काठमाडौं । नेकपा माओवादी केन्द्रमा पनि मन्त्रीहरू फेर्ने विषयमा आवाज उठेको छ । माओवादी केन्द्रका नेता वर्षमान पुनले मन्त्रीहरू फेर्ने विषयमा आफ्नो पार्टीभित्र पनि आवाज उठिरहेको बताउनुभएको छ ।
बुधबार(आज) संघीय संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग बोल्दै नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री बनेकाहरूलाई फेर्नुपर्ने आवाज उठिरहेको बताउनुभयो ।
नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि मन्त्रीहरू फेर्न दबाब परेको बताउनुभयो । मन्त्री फेर्नेबारे पार्टीभित्र कुनै छलफल भने नभएको उहाँको भनाइ छ ।
माओवादी केन्द्रकै नेता गिरिराजमणि पोखरेलले भने संसद्मा मन्त्रालयगत छलफल प्रारम्भ भएको बेलामा मन्त्री फेर्न नमिल्ने बताउनुभयो । अहिले मन्त्रिपरिषद् हेरफेर गर्नु संयुक्त सरकारको सोचसँग मेल नखाने उहाँको भनाइ छ ।
नेता पोखरेलले गठबन्धनका शीर्ष नेताहरू बसेर मन्त्री हेरफेर गर्ने निर्णय सच्याइसकेको बताउनुभयो ।