काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले एआईजी विश्वराज पोखरेलको बिदा अस्वीकृत गर्नुभएको छ । यसअघि लिएको बिदा सकिएपछि पुनः बिदाका लागि निवेदन दिनुभएका पोखरेलको बिदा आईजीपी सिंहले अस्वीकृत गर्नुभएको हो ।
पोखरेलले बुधबार प्रहरी प्रधान कार्यालयमा सहयोगी पठाएर बिदाका लागि निवेदन बुझाउनुभएको थियो । सम्बन्धितले बिदा माग्नुपर्ने नियमअनुसार सिंहले पोखरेलको बिदा अस्वीकृत गरेर घर ठेगानामा जानकारी गराउन निर्देशन दिनुभएको छ ।
प्रहरी प्रवक्ता विष्णु केसीले बिदा अस्वीकृत भएको पुष्टि गर्दै घर ठेगानामा जानकारी गराउन निर्देशन दिएको बताउनुभयो ।
आइजिपीको दाबेदार पोखरेल आईजीपी हुन नपाएपछि गत वैशाख १९ देखि बिदामा हुनुहुन्थ्यो । हालैको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मानव स्रोत विभागबाट प्रदेश समन्वय विभागमा सरुवा भएका उहाँलाई मनसुनको मौसममा बिदा दिनु पनि अनुपयुक्त हुने आइजिपीको निष्कर्ष छ ।
आईजीपी नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर गर्नुभएका विश्वराजको मुद्दा विचाराधीन अवस्थामा छ ।