काठमाडौं । लुम्बिनी प्रदेश सभाको प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरूले सरकारको नीति तथा कार्यक्रममा गठबन्धन सरकारले दीर्घकालीन योजना ल्याएको आरोप लगाएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि शुक्रबारदेखि सुरु भएको छलफलमा नेकपा एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले मंसिरसम्मको सरकारले दीर्घकालीन महत्त्व राख्ने खालका योजनाहरू ल्याएको बताउनुभयो ।
पूर्व अर्थमन्त्रीसमेत रहेका चौधरीले नीति तथा कार्यक्रम राजनीतिक भाषण जस्तो भएको टिप्पणी गर्दै सरकारले क्रमागत योजनाहरूभन्दा टुक्रे योजनाहरू ल्याउन उद्धत भएको बताउनुभयो ।
नीति तथा कार्यक्रम अनुसार बजेट आउनेमा आशङ्का रहेको चौधरीले बताउनुभयो ।
विपक्षी दलका अर्का सांसद विष्णु पन्थीले आवश्यक नै नभएका योजनाहरू नीति तथा कार्यक्रममा राखिएको आरोप लगाउनुभयो ।
सत्तापक्षका सांसद सुदर्शन बरालले भने प्रदेश प्रमुखले नीति तथा कार्यक्रम पेस गरिरहँदा विपक्षी दलका नेता एवं पूर्व मुख्यमन्त्री शङ्कर पोखरेल उपस्थित नभएकोमा प्रश्न उठाउनुभएको छ । यस्तै सत्तापक्षका सांसद दामा कुमारी शर्माले उद्योग, कृषि शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको बताउनुभएको छ ।
अर्को प्रदेशसभा बैठक शनिबार दिउँसो १ बजे बस्नेछ ।