काठमाडौं । आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्नुपूर्व अर्थमन्त्री जनार्दन शर्माले खास घरानाका व्यक्तिहरुलाई पोस्ने गरी करको दायरामा हेरफेर गरेको भन्दै प्रतिपक्षी दल नेकपा एमालेले चर्को आलोचना गरेको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकको शुभारम्भमा बोल्दै सांसद एवम् पूर्व अर्थमन्त्री डा. सुरेन्द्र पाण्डेले अर्थमन्त्री शर्माले आफूमाथि लागेको आरोपको प्रष्ट्याई नगरुञ्जेल यो पदमा बस्न योग्य नरहेको बताउनुभएको थियो ।
प्रतिपक्षी दल एमालेले लगातार अथमन्त्रीको जवाफ माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले समय उपलब्ध गराउनुभएको थियो । सोही अवसरमा अर्थमन्त्री शर्माले आफूमाथि लागेको आरोप झुट्टा र कपोकल्पित भएको दाबी गर्नुभएको थियो ।
शर्मा बोले लगत्तै एमाले सांसद विशाल भट्टराईले पनि अर्थमन्त्रीमाथि लागेको आरोपको सत्यतथ्य छानबिन हुनुपर्ने माग गर्नुभयो । नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भएपनि त्यो हुन नसकेकोले आरोपको बारे स्पष्ट बाहिर ल्याउनुपर्ने उहाँको भनाइ थियो ।
प्रतिपक्षी दलको चित्त बुझाउन नसकेका अर्थमन्त्री शर्मा संसदका थप जवाफ दिने पक्षमा देखिएनन् । एमालेले पनि विशाल भट्टराईकै धारणालाई सर्वसम्मत बनायो । सोही बीचमा सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदलाई स्पष्टिकरण सोध्न र नियमावलीको पालना गर्न आग्रह गर्नुभएको थियो ।
एमालेले नमानेपछि छलफलमा उठेका विषयहरुलाई मन्त्री र प्रधानमन्त्रीले भोलि जवाफ दिनेगरी सभामुख सापकोटाले संसद बैठक स्थगित गर्नुभएको थियो ।
अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गर्नुको अघिल्लो दिन तत्कालीन नायब सुब्बा र सीए भनिने व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दायरमा हेरफेर गराएको आरोप लागेको छ । आरोप सत्यतथ्य के हो त्यसका बारेमा मन्त्रालयको सीसीटिभी हेर्न एमालेको माग छ ।
माओवादी केन्द्रले भने शर्मामाथि उठेको नैतिक प्रश्नको वेवास्ता गरेको देखिएको छ ।