काठमाडौं । कुरियर सेवामा अस्वस्थ प्रतिस्पर्धा रोक्न भन्दै न्यूनतम शुल्क निर्धारण गर्ने सहमति व्यवसायीले गरेका छन् । कुरियर व्यवसायीको छाता सङ्गठन नेपाल कुरियर सेवा संघले सबै कुरियर कम्पनीहरूसँग सम्झौता गरी न्यूनतम शुल्क निर्धारण गरेको जनाएको छ ।
संघका अनुसार अब कुरियर व्यवसायीहरूले प्रतिकेजी ३० रुपैयाँ तथा प्रतिडकुमेन्ट न्यूनतम २५ रुपैयाँ मात्र लिन पाउनेछन् । यसभन्दा कम दररेटमा सेवा प्रवाह गर्ने कुरियर कम्पनीहरूलाई संघले कारबाहीको प्रक्रिया अघि बढाउने संघका महासचिव राजकुमार सामरीले जानकारी दिनुभयो ।
महासचिव सामरीका अनुसार व्यवसायीहरुबीच वृहत् छलफल र कानुन व्यवसायीहरूको सल्लाह लिएर कुरियर सेवा संघ र कुरियर सेवा प्रदायक कम्पनीहरूबिच न्यूनतम शुल्क लागू गर्नेसम्बन्धी सम्झौताको मस्यौदा गरिएको छ । कुरियर कम्पनीहरूले संघमा ५० हजार रुपैयाँ धरौटी राख्नुपर्ने र सम्झौता उल्लंघन गरेको पाइएमा २५ हजार रुपैयाँसम्म जरिवाना गर्ने सम्झौतामा उल्लेख गरिएको छ । व्यवसायीले न्यूनतम शुल्कको सम्झौता पालना गरे नगरेको अनुगमन संघले गर्ने जनाइएको छ ।
संघले तय गरेको न्यूनतम दररेट भन्दा कम दररेटमा बजारमा बुकिङ गरेको प्रमाणित भएमा कुरियरका मेलव्याग बोक्ने लोजिस्टिक कम्पनीहरूलाई अनुरोध गरी मेलव्याग ल्याउने, पुर्याउने सेवा बन्द गरिने सम्झौतामा उल्लेख छ ।
न्यूनतम शुल्क लागू नगर्ने कम्पनीलाई कालोसूचीमा राख्ने तथा विभिन्न शाखामा हुने डेलिभरीलाई समेत रोक लगाइने जनाइएको छ ।