काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ । मलेसियाको किनरारा ओभलमा मंगलबार(आज) नेपाल हङकङसँग ७ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय १० रनको लक्ष्य हङकङले १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
हङकङको जितमा मारिको हिलले सर्वाधिक ४५ रन जोडिन । नताषा मिल्सले अविजित २८ तथा कप्तान कारी चानले १७ रन बनाइन् ।
नेपालकी संगीता राईले २ तथा सीता मगरले १ विकेट लिइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै ३२ रनको योगदान गरिन् । अप्सरी बेगमले अविजित २२ रन बनाइन् ।
यस्तै बिन्दु रावलले २३ रन जोड्दा सीता मगरले ९ रन जोडिन् । ममता चौधरी ७, कविता जोशी ४, काजल श्रेष्ठ १ र इन्दु वर्मा शून्य रनमा आउट भइन् । हङकङकी बेट्टी चानले २ तथा मार्याम बीबी र एलिसा हब्बार्डले १/१ विकेट लिए ।