काठमाडौं । मन्त्रिपरिषद्को बैठक मंगलबार(आज) बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
मन्त्रिपरिषद्को नियमित बैठक हिजो बस्नुपर्ने थियो । तर मन्त्रिपरिषद् सदस्य हेरफेरका कारण बैठक बस्न सकेन । त्यसैले आज दिउँसो प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले यो बैठकलाई नियमित भनेको छ ।
एकीकृत समाजवादीको तर्फबाट चार मन्त्री र एक राज्यमन्त्री समेटेर प्रधानमन्त्री देउवाले आइतबार मन्त्रिपरिषद् हेरफेर गर्नुभएको थियो । नवनियुक्त मन्त्रीहरूले हिजो पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै कार्यभार पनि सम्हालिसकेका छन् ।
बैठकमा सरकारको नियमित एजेण्डाबारे छलफल हुने बताइएको छ । एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी भएका नयाँ चार मन्त्रीको यो पहिलो मन्त्रिपरिषद् बैठक हो ।
त्यसैगरी जसपाले पनि हालका मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेकोले सो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको अन्तिम बैठक हुन सक्ने जसपा निकट स्रोतले बताएको छ ।