काठमाडौं । सरकारले श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीहरूको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बुधवार(आज) मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कार्य निर्देशन करार निर्देशिका २०७९ स्वीकृत गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो ।
उहाँले सरकारले वीरगञ्ज–सिमरा–पोखरीया प्रसारण लाइनको टावर तथा सब स्टेसनको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने, उपत्यका भित्रका प्रसारण लाइन तथा सब स्टेसनहरूमा संरचनात्मक सुधार, स्तरोन्नति तथा बिस्तार गर्नका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने, विभूषणमा प्रयाग हुने सुनको परिणाम घटाइ बनावट हेरफेर गर्न स्वीकृत दिने निर्णय गरेको बताउनुभयो।
उहाँका अनुसार सरकारले सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली २०७९ को मस्यौदाउपर लोकसेवा आयोगको परामर्श लिने, मध्य भोटेकोशी जलविद्युत आयोजनाको २२० केबी प्रसारण लाइनको लागि वन क्षेत्र प्रयोग गर्न दिने, कार्बन उत्सर्जन न्यूनीकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने र भेडेटार स्काइ वार्प निर्माणको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि गरेको छ ।
प्रवक्ता कार्कीले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा शीतल साहू पूर्वेलाई नियुक्त गर्ने, निजामती सेवा पुरस्कार सिफारिस समितिको सदस्य तोक्ने पनि निर्णय गरेको बताउनुभयो।