काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद्को सामना एकीकृत प्रयासबाट मात्रै सम्भव हुने बताउनुभएको छ । मनसुन पूर्व तयारी प्रतिकार्य बैठकमा सहभागी गृहमन्त्री खाँणले विपद्मा समन्वय गर्नुपर्ने सरकारी निकायका पदाधिकारीहरूलाई निर्देशन दिँदै सरकारको मुख्य दायित्व प्राकृतिक प्रकोपबाट जनधनको सुरक्षा गर्नु भएकाले त्यसका लागि एकीकृत प्रयास गर्न आग्रह गर्नुभयो ।
उहाँले विपद्को जोखिम न्यूनीकरण गर्दै जनताको जिउधनको रक्षा गर्ने राज्यको मूल दायित्व पूरा गर्न ठुलो चुनौती रहेको भन्दै त्यसलाई चिरेर अगाडि बढ्न सबैलाई निर्देशन दिनुभयो ।
भारी वर्षातपछि आउने बाढी, पहिरो तथा हुने डुबानबाट रोक्ने रणनीतिसहितको पूर्व तयारी आवश्यक रहेको उहाँको भनाइ थियो । त्यसका लागि सडक, खानेपानी, सञ्चार, स्वास्थ्य, सुरक्षासहितका निकायलाई तम्तयार अवस्थामा बस्न उहाँले निर्देशन दिनुभयो ।
गृह सचिव टेकनारायण पाण्डेले विपद्को प्रतिकार्यका लागि तम्तयार अवस्थामा रहन सबैलाई निर्देशन दिनुभयो । विपद्मा अत्यावश्यकीय सेवा सुचारु गर्न पूर्व तयारी गर्न उहाँले निर्देशन दिनुभयो ।
कार्यक्रममा जल तथा मौसम पूर्वानुमान महाशाखा, सडक विभाग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिँचाई विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाली सेना, नेपाल सशस्त्र प्रहरी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका तर्फबाट विपद्को पूर्व तयारीका लागि गरिएका कामबारे जानकारी गराइएको थियो ।