काठमाडौं । आन्तरिक विवादमा फसेको सत्तारूढ दल जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ।
संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव आ–आफ्नो तरिकाले अघि बढ्न तयार भएपछि जसपा फुट्ने निश्चित भएको हो। उनीहरूबीच बुधबार जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा भेट भएको थियो।
जसपाका नेताहरूका अनुसार अहिले पार्टीको नाम र चुनाव चिन्ह उपेन्द्र पक्षसँगै हुनेछ भने बाबुरामले नयाँ दल खोल्नु पर्ने छ ।
बाबुराम जसपाबाट छुट्टिएपछि उनीसँग को–को सांसद तथा केन्द्रीय कार्यकारिणी सदस्य जालान् भन्ने चासो छ।
बाबुरामको पक्षमा लाग्ने भनेर अहिलेसम्म कुनै पनि सांसद तथा जसपा नेताले सार्वजनिक रूपमा बोलेका छैनन्।
उपेन्द्र समूहले भने सांसदहरू महिन्द्र राय, राजकिशोर यादव र अमृता अग्रहरी बाबुरामसँग जाने सक्ने अनुमान गरेको छ।
सांसद अग्रहरीले भने छुट्टिने कुरा सुनेको भए पनि को–कता जाने केही टुङ्गो नभएको बताइन्।
‘उहाँहरू सौहार्दपूर्ण वातावरणमा छुट्टिन तयार हुनुभयो भन्ने सुनेको हो। अरू कुरा थाहा छैन,’ अग्रहरीले भन्नुभयो ।
यसअघि सांसदहरू मोहम्मद इस्तियाक राई, प्रदीप यादव, रामबाबुकुमार यादव, सुरेन्द्रकुमार यादवलगायत पनि बाबुरामका पक्षमा उभिएका थिए।
अध्यक्ष उपेन्द्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै त्यसको विरोधमा उभिएका उनीहरूले बाबुरामले पार्टी नै विभाजन गर्ने प्रस्ताव गरेपछि भने साथ छोडेको स्रोतको दाबी छ।
दुई निलम्बितसहित जसपामा अहिले २१ जना प्रतिनिधि सभा सदस्य छन्।
३४ सदस्यीय जसपाको कार्यकारिणी समितिमा पनि बाबुरामको पक्षमा बहुमत पुग्ने सम्भावना छैन। कार्यकारिणी समितिमा अहिले ३२ जना छन्।
‘उहाँसँग मुस्किलले १५ जना कार्यकारिणी होलान्,’ जसपाका एक नेताले भने। पछिल्लो समय जसपामा उपेन्द्र र बाबुराम पक्षबीच विवाद चर्किँदै गएको थियो।
पार्टीका सबै निर्णयमा यादवले एकलौटी गरेको भट्टराईको आरोप थियो। उहाँले पार्टीको विधानअनुसार अर्को अध्यक्ष चयन गर्न माग गर्नुभएको थियो । त्यसका लागि यादव भने तयार हुनुभएन।
गत वर्ष भदौमा जसपा विभाजन भएर महन्थ ठाकुर, राजेन्द्र महतोलगायतले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेपछि ठाकुरको पद जसपामा खालि थियो। यादवमाथि भट्टराईले दबाब बढाउँदै जाँदा उहाँ झन्डै बहुमतनजिक पुग्नुभएको थियो । तर यादवलाई हटाउन नसके विभाजनका लागि समेत तयार हुनुपर्ने भट्टराईको प्रस्तावपछि उहाँलाई साथ दिएका धेरै नेताहरू पछि हटेको स्रोतको दाबी छ।
यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम र भट्टराईको नयाँ शक्ति पार्टीबीच २०७६ वैशाखमा एकता भएको थियो। एकता भएपछि संघीय समाजवादी पार्टी बनेको थियो। संघीय समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीबीच २०७७ वैशाखमा एकता भएर जसपा बनेको थियो।