Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

निजगढ विमानस्थल निर्माणकार्य अगाडि बढाउन सत्तागठवन्धन एकमत, के भन्छ प्राधिकरण ?

निजगढ विमानस्थल निर्माणकार्य अगाडि बढाउन सत्तागठवन्धन एकमत, के भन्छ प्राधिकरण ?

  • शनिवार, आषाढ १८ २०७९

  • 838
    SHARES

  • निजगढ विमानस्थल निर्माणकार्य अगाडि बढाउन सत्तागठवन्धन एकमत, के भन्छ प्राधिकरण ?
    काठमाडौं । निजगढ विमानस्थल निर्माणकार्य अगाडि बढाउन सत्तागठवन्धनका नेता एक भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरूले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनेमा ढुक्क हुन आग्रह गरेका छन् ।  

    गठबन्धनका शीर्ष नेताहरूले आज प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गर्दै विमानस्थल बनाउने दृढता व्यक्त गरेका हुन् । प्रधानमन्त्री सहित शीर्ष नेताहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल काम अगाडि बढाउने सन्देश सोही ठाउँमै पुगेर दिएका हुन् । 

    आयोजनास्थल पुगेर संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्षतिमा विमानस्थल निर्माणका लागि विज्ञसँग छलफल भइरहेको जानकारी दिनुभयो । निजगढ नै अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि उपयुक्त ठाउँ रहेको भन्दै प्रधानमन्त्री देउवाले विधि र प्रक्रिया पूरा गरेर निजगढमा २ वटा रनवे सहितको विमानस्थल बन्ने बताउनुभएको हो ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाइ गर्न नहुने भन्दैे सबै मिलेर राष्ट्रिय गौरवको आयोजना पूरा गर्नुपर्ने बताउनुभयो ।

    विमानस्थल समयमै निर्माणको प्रक्रिया सुरु नभए करोडौंको लगानी अलपत्र पर्ने र फास्ट ट्र्याकको औचित्य पुष्टि नहुने पनि नेताहरूले बताएका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सर्वोच्चको पूर्ण पाठ हेर्दा वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिनेमा जोड दिनुभयो ।

    जसपा अध्यक्ष उपेन्द्र यादवले विमानस्थल निर्माणमा राष्ट्रिय सहमति जुट्नुपर्नेमा जोड दिनुहुन्छ । ५०–६० वर्षपछिको अवस्थालाई मध्यनजर गर्दै विमानस्थल निर्माणको काम अघि बढाउनुपर्ने उहाँको तर्क छ ।

    सरकारले निजगढ विमानस्थललाई बजेटमा पनि समेटेको छ । अर्थमन्त्री जनार्दन शर्माले निजगढ विमानस्थल जसरी पनि बन्ने यसअघि बताउँदै आउनुभएको थियो ।

    प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले वातावरणीय असरहरू सिर्जना गर्ने भन्दै परेका मुद्दामाथि रोक लगाएको सर्वोच्च अदालतले केही दिन अघि आफ्नो आदेशको पूर्ण पाठ सार्वजनिक गर्दै नयाँ विकल्प समेत खुला गरिदिएको थियो ।

    सर्वोच्चको पूर्ण पाठले निजगढमा विमानस्थल बन्न रोक नलगाएको निष्कर्षपछि शीर्ष नेताहरूले आज पहिलो पटक निर्माणक्षेत्रको भ्रमण गरेका हुन् । यसैबिच, नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रधानमन्त्रीको निर्देशन अनुसार अगाडि बढ्ने बताएको छ ।

    प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले निजगढ विमानस्थललाई अगाडि बढाउन धेरै काम बाँकी भएकाले धेरै उत्साहित बनिहाल्नुपर्ने अवस्था नभएको प्रतिक्रिया दिनुभएको छ । 

    बारा जिल्लामा ठुलो वन क्षेत्र मासेर विमानस्थल निर्माण गर्नुपर्ने भएकाले उक्त आयोजनाका कारण ठुलो पर्यावरणीय हानि पुग्ने भन्दै त्यसको चौतर्फी आलोचना पनि हुँदै आएको थियो । आज प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरूले निजगढ पुगेरै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने दृढता व्यक्त गरेपछि विमानस्थलको भविष्यबारे अन्योल हटेको छ ।


    शनिवार, आषाढ १८ २०७९०८:०५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij