Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

धनगढी उपमेयरको आरोप : मेयर र प्रशासकीय अधिकृतले एकलौटी गरे 

धनगढी उपमेयरको आरोप : मेयर र प्रशासकीय अधिकृतले एकलौटी गरे 

  • सोमवार, आषाढ २० २०७९

  • 804
    SHARES

  • धनगढी उपमेयरको आरोप : मेयर र प्रशासकीय अधिकृतले एकलौटी गरे 
    काठमाडौं। धनगढी उपमहानगरपालिकाका मेयरले बजेट निर्माणमा एकलौटी गरेको भन्दै नेकपा एमालेले विरोध जनाएको छ ।
     
    अगामी आर्थिक वर्ष २०७९-८० का लागि ल्याइएको बजेटमाथि छलफल गर्न सोमबार बसेको नगरसभा बैठकमा मेयर हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले एकलौटी गरेको र आफूहरुलाई बाइपास गरेको भन्दै एमालेको विरोध जनाएको हो ।
     
    नगरसभा बैठकमा बोल्दै एमालेबाट निर्वाचित उपमेयर कन्दकला रानाले योजना तर्जुमादेखि कार्यालयका अन्य कामकाजमा मेयर हमालले कुनै समन्वय नगरेको गरेको आरोप लगाउनुभयो ।
     
    ‘धनगढी उपमहानगरपालिका कसैको प्राइभेट कम्पनी होइन । मेयर साबले एकलौटी गर्नुभएको छ । योजना तर्जुमा हामीलाई वाइपास गरिएको छ’, रानाले भन्नुभयो, ‘उहाँले गरेका हरेक राम्रा काममा हाम्रो साथ रहन्छ तर एकलौटी गर्न थालेकाले हामी यो नगरसभा चलाउन सक्दैनौँ ।’
     
    रानाले सरसल्लाह, छलफल र समन्वयका आधारमा मात्र धनगढीको विकास सम्भव भएको उल्लेख गर्नुभयो । योजना तर्जुमा समितिको संयोजक उपमेयर भएपनि योजना बनाउँदा सल्लाह नगरेको दाबी उहाँको छ ।
     
    उपमेयर रानाले मेयर हमालले धनगढीबाट बाहिर जाँदा समेत आफूलाई कुनै जानकारी नदिएको भन्दै कानुनी व्यवस्थाको बेवास्ता नगर्न आग्रह गर्नुभयो ।
     
    प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ आफ्नो कार्यकक्षमा प्रवेश गर्न समेत हिच्किचाउने भन्दै उहाँले कर्मचारीले समेत आफ्नो अपमान गरेको बताउनुभयो । निजी सचिवालयमा कर्मचारी व्यवस्थापन नगरिदिएको गुनासो समेत उपमेयर रानाको थियो ।
     
    रानाले उठाएका प्रश्नको जवाफ दिँदै मेयर हमालले योजना शाखाका विज्ञहरूले बजेट र योजना निर्माण गरेको बताउँदै आफ्नो संलग्नता र कुनै स्वार्थ नरहेको बताउनुभएको छ । 
     
    ‘योजना शाखाका विज्ञहरूले योजना बनाएका हुन् । म पनि योजना बनाउनमा संलग्न छैन । ती योजनामा मेरो कुनै स्वार्थ झल्किनुपर्‍यो नि,’ हमालले भन्नुभयो, ‘एक अर्ब ९३ करोडको बजेट सिलिङमा १० करोड काट्दा धेरै योजना काटिएका छन् । त्यो पनि सम्बन्धित शाखाहरूलाई सोधेरै राखिएको हो ।’
     
    उहाँले आफ्नो काम उपमेयरलाई रिपोर्टिङ गर्ने नभएको बताउँदै व्यक्तिगत काम परेर बाहिर गएको बताउनुभयो । तर उपमेयरको सचिवालयमा कर्मचारी नराखिएको विषयमा आफूलाई कुनै जानकारी नभएको मेयर हमालले बताउनुभयो । 
     
    हमालको जवाफ चित्तबुझ्दो नभएको भन्दै एमाले जनप्रतिनिधिहरूले नगरसभा बैठकमा प्रश्न उठाइरहेका छन् ।


    सोमवार, आषाढ २० २०७९०३:४५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij