काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टी पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो समेत टुंगो लगाएर केन्द्रीय समिति बैठकमा पेश गर्ने तयारी गर्नुभएको छ ।
बुधबार बस्ने पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरोमा बस्ने सबै नेताहरुको नाम प्रस्ताव गर्ने नेता गिरिराजमणि पोखरेलले बताउनुभयो । पार्टी पदाधिकारी बनाउने भएपछि महासचिव सहित अन्य पदमा पनि जटिलता थपिएको छ ।
वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठलाई प्रस्ताव गर्ने तयारी गरिएको थियो । सोही पदमा कृष्णबहादुर महरा र मातृका यादवले इच्छा देखाएपछि थप समस्या पैदा भएको छ ।
चुनाव गरेपनि आफू वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्न तयार रहेको यादवले बैठकमै राख्नुभएको छ । यस्तै महराले आफू महासचिव नहुने हो भने वरिष्ठ उपाध्यक्ष हुनुपर्ने बताउनुभएको छ ।
यस्तै महासचिवमा वर्षमान पुन र जनार्दन शर्मा प्रमुख दावेदार रहेका छन् भने पम्फा भुसाल, देव गुरुङ र शक्ति बस्नेत समेत आकांक्षी देखीएका छन् ।
यसैगरी कोषाध्यक्ष र उपमहासचिवमा को–को बस्ने भन्नेमा पनि अन्योलता भएको एक नेताले बताएक छन् । सबै पदाधिकारीका इच्छुक नेताहरुसँग प्रचण्डले आज बेलुकासम्म परामर्श गरेर बुधबार बैठकमा प्रस्ताव गर्ने बताइएको छ ।
केन्द्रीय समितिबाट सर्वसम्मत रुपमा पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो टुंगो लागेमा केन्द्रीय सदस्यको जवाफ दिएर बुधबार बैठक समापन गर्ने प्रचण्डको तया्ररुी छ । यदि पदाधिकारी सहमति नभएमा चुनाव गर्नेसम्मको मनस्थितिमा प्रचण्ड पुगेको बताइएको छ ।