काठमाडौं । मधेस प्रदेश सभामा शनिबार विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमालेको बहिस्कारका बीच बसेको बैठकले दुई विधेयक पारित गरेको छ ।
जापानी प्रधानमन्त्री सिञ्जो आबेको निधनमा नेपालमा राष्ट्रिय शोक घोषणा गरेको दिन शनिबार बैठक राखेको भन्दै लोसपा र एमाले सांसदले बैठक बहिष्कार गरेका थिए ।
विपक्षी सांसद बैठक बहिष्कार गरेर हिंडेपनि बैठकलाई निरन्तरता दिइएको थियो । बैठकले आर्थिक विनियोजन विधेयक र प्रदेश सभा सचिवालय कार्य सञ्चालन सम्बन्धी विधेयक पारित गरेको छ ।
बैठकमा विपक्षी दलका सांसद अनुपस्थित हुँदा पनि सभामुख सरोजकुमार यादवले यो दुबै विधेयक सर्वसम्मतले पारित भएको घोषणा गर्नुभएको थियो ।
प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) को नेतृत्वमा नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र सहभागी सरकार छ । प्रदेश सभामा यी दलहरुको बहुमत छ ।
आइतबार सुरु भएको १६ औं बैठकको सुरुमै बोल्दै महतोले प्रतिपक्षी बिना बैठक बसाइएको भन्दै खेद प्रकट गर्नुभएको छ ।