काठमाडौं । त्रिभुवन विश्वविद्यालय, उपकुलपतिको कार्यालय अगाडि एकीकृत समाजवादी निकट अनेरास्ववीयूका विद्यार्थीहरूले आमरण अनसन सुरु गरेका छन् ।
त्रिविभित्र रहेका विकृति, विसङ्गति र शैक्षिक अपराधीकरण बढेको भन्दै उनीहरू १४ बुँदे मागसहित उनीहरू मंगलबार (आज)देखि आमरण अनसन सुरु गरेका हुन् ।
आफूहरू विश्वविद्यालयमा भएको बेथिति, विसंगति विरुद्ध अनसन बसेको अनेरास्ववियूका स्थायी कमिटी सदस्य प्रेम विश्वकर्माले बताउनुभयो। उनीहरूले उपकुलपतिको कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए।
उनीहरूले एम फिएल, पिएचडी लाई निरन्तरता दिनुपर्ने, स्ववियुको निर्वाचनको मिति घोषणा गर्नुपर्ने, सेमिस्टार प्रणालीमा पढाई हुँदै आएका संकायमा व्यवस्थित बनाउनु पर्ने, एक विषयको परीक्षामा हलमा पुग्दा अर्को प्रश्नावली पठाउने जस्ता लापरबाही नगर्न, त्रिवि सेवा आयोगमा शून्य नतिजा आएको हुँदा विश्वविद्यालयको गरिमामा आँच पुगेकोले तत्काल छानबिन गर्नुपर्ने, त्रिविका सबै संकायहरु समयअनुसार आवधिक र परिमार्जन गर्नुपर्ने लगायतका माग राखेका छन्।
अनेरास्ववीयू अध्यक्ष सुदेश पराजुलीले १४ बुँदे माग पूरा नभएसम्म अनसन जारी राख्ने बताउनुभयो ।