काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले राम्रो राष्ट्र बनाउने हो भने राम्रो राजनीति चाहिने बताउनुभएको छ ।
बिहीबार ललितपुरमा नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै भुसालले राम्रो राजनीति चाहने हो भने राम्रो पार्टी चाहिने बताउनुभयो । उहाँले विज्ञानको विकास कर्मचारीतन्त्रलाई खेदेर मात्र, पुँजीपति वा वैज्ञानिकले घोत्लिएर मात्र संभव भएन भने राजनीतिबाट गर्नुपर्ने र त्यसका लागि राजनीति राम्रो हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो–‘ राम्रो राष्ट्रको परिकल्पना गरेर राजनीति चाहियो, राम्रो राजनीति चाहने हो भने राम्रो पार्टी चाहियो । खराब राजनीतिक पार्टी भएको देशको राम्रो भविष्य हुँदैन् । राम्रो पार्टी भनेको वैज्ञानिक चेतना भएको पार्टी हुनुपर्यो । वीपीले २०१२ सालतिर प्रजातान्त्रिक समाजवाद भनेर एउटा वाक्य लेख्नुभएको थियो । अहिले पनि काँग्रेस त्यही भन्दैछ । प्रजातान्त्रिक समाजवाद कसरी आउँछ भनेर वैज्ञानिक तरिकाले भनिदियो वा परिक्षण गर्न सकिने तरिकाले भनिदियो भने त्यो काँग्रेसको वैज्ञानिक विचार भयो । तर त्यो कसैले भन्दैन ।’
उहाँले एमालेले समृद्ध नेपाल सुखी नेपाली भन्ने गरेको, माओवादी केन्द्रले २१ औं वैज्ञानिक जनवाद भन्ने गरेको तर त्यो कसरी आउँछ भन्न नसकेको बताउनुभयो।
पढेका जानेका बुझेका ३० लाख हाराहारी मानिसहरु सदस्यता लिएर हाल सक्रिय राजनीतिमा रहेको बताउँदै उनीहरुको चेतना बैज्ञानिक नभएको उहाँको टिप्पणी छ ।