काठमाडौं । तीन वर्ष लगातार संसदमा छलफल भएको नागरिकता विधेयक फिर्ता लिइ पुनः नयाँ विधेयक दर्ता भएपछि विभिन्न आशङ्का पैदा भएको भन्दै सांसदहरूले आलोचनात्मक टिप्पणी गरिरहेका छन् ।
विधेयक पारित गर्ने समयमा पुनः छलफलमा लगिनु र प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै जाँदा पर्याप्त छलफल हुन नपाउने भन्दै आलोचना भइरहेको छ ।
आजको प्रतिनिधिसभाको बैठकमा पनि नागरिकता विधेयकमाथि छलफलका लागि गृहमन्त्री बालकृष्ण खाँणले प्रस्ताव पेस गर्नुभएको थियो । सोही क्रममा बोल्दै सांसद पद्मा अर्यालले नेपाली चेलीले विदेशीसँग विवाह गर्दा नागरिकता पाउन करिब ९ वर्ष कुनुपर्ने तर विदेशी चेली नेपाली बुहारी बन्दा नागरिकता दिन हतारो किन भन्दै प्रश्न गर्नुभयो ।
सरकारले जनताका दुःखलाई सम्बोधन गर्न नसकेको भन्दै सांसद विमला विश्वकर्माले आफ्नै देशमा अनागरिक भएर बस्नुपर्दाको पीडा कठिन हुने बताउनुभयो । विधेयक पारित गर्ने समयमा पुन पेस गरिनु दुखद् भएको उहाँको भनाइ छ ।
वैवाहिक, अंगिकृत नागरिकहरुलाई हचुवाको भरमा नागरिकता दिँदा मुलुकले कालान्तरमा समस्या भोग्नुपर्ने सांसद गंगा चौधरीको दाबी छ । चिनियाँ दशहजार चेलीहरु नेपाली भाषा सिकिरहेको बताउँदै उहाँले यहाँको नागरिकसँग विवाह गर्दा सीधै संसदमा प्रवेश गर्न पाउने अधिकार तत्काल दिन नहुने तर्क गर्नुभयो ।
सांसद डा. सूर्य पाठकले नागरिकताबाट बञ्चित हुँदा नागरिकले निकै सास्ती भोग्नुपरिरहेको स्मरण गर्दै आएको विधेयकलाई तत्काल पारित गरी लागू गर्नुपर्ने औँल्याउनुभयो ।
सांसद डा. मिनेन्द्र रिजालले अनुहारका आधारमा नागरिकता नपाएको बताउँदै पाँच वर्षदेखि नागरिकले नागरिकताको प्रतिक्षा गरिरहेको उल्लेख गर्नुभयो ।
विदेशीले नागरिकता नपाउने स्वदेशी बञ्चित नहुने गरी यसअघि नै विधेयकमाथि पर्याप्त छलफल भइसकेको बताउँदै डा भीम रावलले नागरिकलाई भड्काउन पुनः विधेयक ल्याइएको दाबी गर्नुभयो ।
नागरिकता कुनैपनि मुलुकका नागरिकको पहिचान हो । स्वदेशी नागरिकले नागरिकताबाट बञ्चित हुनुनपर्ने र विदेशीले नपाउने व्यवस्थालाई कडाइका साथ लागु गर्नु आजको आवश्यकता हो ।