काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगलाई सम्पूर्ण काम कारबाही रोक्न २४ घण्टे अल्टिमेटम दिएको छ । आइतबार(आज) नेविसंघ त्रिविका सचिव योगेन्द्र रावलले त्रिवि सेवा आयोगलाई ध्यानाकर्षण पत्र बुझाउँदै हाल भइरहेका सम्पूर्ण परीक्षा, अन्तरवार्ता र नतिजा प्रकाशनका विषयमा आवश्यक छानबिन हुनुपर्ने माग राख्नुभएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘त्रिवि सेवा आयोगका हालसालै र विगतमा भएका शिक्षक कर्मचारीको समग्र मूल्यांकन र नतिजाको आवश्यक छानबिन नगरी मूल्याङ्कन, छनौट र सिफारिसका कार्यलाई निरन्तरता दिने दुष्प्रयास भएमा नेविसंघ आन्दोलनको आँधीबेहरी सृजना गर्ने त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी त्रिवि सेवा आयोग स्वयमले लिनुपर्ने पनि जानकारी गराउँदछौं ।,’
त्रिविको उच्च प्राज्ञिक मूल्य, मान्यता र गुणस्तरमा योगदान गर्न सक्ने सक्षम जनशक्ति छनोट गरी नियुक्ति र बढुवाको लागि गठित त्रिवि सेवा आयोगले मापदण्डमाथि नै प्रश्न उठेको रावलले बताउनुभयो। त्रिवि सेवा आयोगबाट हाल भइरहेका सम्पूर्ण परीक्षा, अन्तरवार्ता र नतिजा प्रकाशनका विषयमा आवश्यक छानबिन हुनु अनिवार्य रहेको उहाँको भनाइ छ ।