काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको एक वडाध्यक्षलाई पौडी पोखरीमा धकेल्ने प्रहरी अधिकारीलाई नेकपा एमालेले कारबाही गर्न माग गरेको छ ।
आइतबार नगरसभा स्थगित गरेको विरोधमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई धकेल्दै मणिग्राम पार्टी प्यालेसको पौडी पोखरीमा चोबलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
त्यस क्रममा रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले पनि जनप्रतिनिधिलाई धकेलेको बताइएको छ ।
उक्त घटनाको भर्त्सना गर्दै नेकपा एमाले रुपन्देहीले डीएसपी केसी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेको छ ।
सोमबार ज्ञापन पत्र लिएर जिल्लास्तरीय नेता र तिलोत्तमा नगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख रामकृष्ण खाँणसँग मिलेर गणपूरक संख्या पुग्न नदिन कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको हस्ताक्षर गराउने र एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई हस्ताक्षर गर्न नदिएको एमालेको आरोप छ ।