काठमाडौं । विराटनगर महानगरपालिकाले जनप्रतिनिधिलाई सम्पत्ति विवरण बुझाउन सूचना गरेको छ।
वैशाख ३० गते सम्पन्न निर्वाचनपछि विजयी भएका महानगर मेयर र उपमेयरसहित १९ वटा वडाका जनप्रतिनिधिलाई महानगरले आ–आफ्नो सम्पत्ति विवरण प्रस्टाउन सूचना गरेको हो।
महानगरपालिकाअनुसार कानुनी प्रावधानअनुरूप जनप्रतिनिधिहरूले आउँदो भदौ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण महानगरपालिकामा पेस गर्नुपर्ने हुन्छ।
महानगरमा मेयर उपमेयरसँगै १९ वडामा वडाध्यक्ष तथा सदस्य गरी प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिको संख्या ९७ रहेको छ।
यससँगै कार्यपालिकामा ३ जना सदस्य मनोनीत गरिएको छ। महानगरका अनुसार महानगरमा कुल १ सय जनप्रतिनिधि सबैले निर्धारित समयभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ।
जसमध्ये सबैले सरकारी सुविधा उपभोग गर्ने गर्छन्। कार्यपालिकामा रहेका २९ सदस्य मध्ये २७ जनाले वडाध्यक्षले प्राप्त गर्ने बराबरको सुविधा प्राप्त गर्छन्।
त्यसैगरी, महानगरले कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन फारम दर्ता गराउनुपर्ने उल्लेख गरेको छ। कर्मचारीको हकमा समेत महानगरले साउन ७ गते भित्र फाराम दर्ता गराउनु पर्ने हुन्छ।