काठमाडौं । बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरी र संघीय सरकारका दुई मन्त्री एउटै मञ्चमा देखिएका छन् ।
सिद्धबाबाविरुद्ध एक अनुयायीमाथि २०७६ कात्तिक ४ गते बलात्कार गरेको आरोप छ र उनीविरुद्धको मुद्दा जिल्ला अदालत सुनसरीका विचाराधीन छ ।
मुद्दा विचाराधीन रहेकै अवस्थामा संघीय सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर एउटै मञ्चमा देखिएका हुन् ।
सोमबार पशुपति मन्दिर परिसरमा आयोजित कार्यक्रममा दुई मन्त्रीसँगै अन्य नेता र धार्मिक अगुवाहरु सहभागी थिए । महायज्ञ उद्घाटनका लागि बोलाएको भन्दै मन्त्री कार्कीले सिद्धबाबालाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
मन्त्रीले नै अभियुक्तसँग मञ्च सेयर गर्दा मुद्दा नै प्रभावित हुने एक कानुन व्यवसायीले बताउनुभयो ।
गिरीविरुद्ध २०७६ मंसिर ११ गते अनुयायीले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि हिरासतको अवधि विराट नर्सिङहोममा गुजारेका गिरीलाई १४ पुस २०७६ मा जिल्ला अदालत सुनसरीका तत्कालिन न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा पूर्पक्षका लागि छाड्ने आदेश दिएको थियो ।
तर ९ माघ २०७६ मा उच्च अदालत विराटनगरका तत्कालिन मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।