काठमाडौं । जनता समाजवादी पार्टीले कारबाही गरेका सांसद बाबुराम भट्टराईले अब आफू कुनै कम्युनिस्ट पार्टीमा नजाने बताउनुभएको छ ।
भट्टराईले समाजवादी केन्द्र निर्माण आफ्नो लक्ष्य भएको बताउनुभएको छ ।
मंगलबार बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेपछि धेरै उहाँ फेरि माओवादीमा फर्किन लाग्नुभएको हो कि भन्ने अनुमान गरेका थिए।
‘म अब कम्युनिस्ट पार्टीमा जान्नँ,’ भट्टराईले भन्नुभयो,‘मेरो लक्ष्य समाजवादी केन्द्र बनाउने हो। त्यही सिलसिलामा आज प्रचण्डजीसँग कुरा भएको हो। सामान्य छलफल भयो।’
समाजवादी केन्द्र बनाउन आफूले प्रस्ताव गरेको र प्रचण्डले चुनाव पनि आउँदै छ के गर्ने भनेको उहाँले बताउनुभयो ।
‘उहाँहरू कम्युनिस्ट पार्टी छोड्न तयार हुनुहुन्न,’ भट्टराईले भन्नुभयो।
समाजवादी केन्द्र बनाउनेबारे आफूले माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली, वामदेव गौतमसँग पनि कुरा गरेको भट्टराईले बताउनुभयो।
‘म सबैसँग छलफलकै क्रममा छु,’ उहाँले भन्नुभएको छ ।