काठमाडौँ – नेपालमा कोरोना संक्रमणका कारण मानिसहरुको मृत्यु हुने क्रम रोकिएको छैन। पछिल्लो चौबिस घण्टामा पनि कोरोनाभाइरसको संक्रमणका कारण थप सात जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा एक जना महिला र ६ जना पुरूष छन्।
काठमाडौँकी एक महिला र दुई पुरुष, सिराहाका एक पुरूष, पर्साका एक पुरूष, धनुषाका एक पुरूष, र रूपन्देहीका एक जना पुरूषको पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएको हो।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११ हजार ३ सय २७ जनाको स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ३१३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या पपिन १९ हजार ११९ पुगेको छ ।
काठमाडौँ उपत्यकामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौँमा १९९ जना, ललितपुरमा १९ जना र भक्तपुरमा १४ जनामा कोरोना पुष्टि भएको हो।