काठमाण्डौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन अनन्तले प्रतिनिधिसभाले हालै पारित गरेको नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयमा नेकपा एमालेले दोहोरो चरित्र देखाएको आरोप लगाउनुभएको छ ।
उहाँले नागरिकताजस्तो संवेदनशील विषयलाई एमालेले चुनावी राजनीतिक एजेण्डा बनाएको भन्दै त्यसो नगर्न चेतावनी दिनुभयो ।
केपी ओली नेतृत्वको सरकारले ०७५ सालमा संसदमा पेस गरेको विधेयक तथा ०७७ मा ल्याएको अध्यादेश र शुक्रबार प्रतिनिधि सभाले पारित गरेको नागरिकता ऐनका सबै प्रावधान एकै रहेको पुनले दाबी गर्नुभयो ।
पुनले आफू राष्ट्रवादी र बाँकी सबै राष्ट्रवादी देखाउन जायज नाजायज काम नगर्न एमाले नेतृत्वलाई सुझाउनुभएको छ ।
पुनले नेपालको भू–राजनीतिक संवेदनशीलताको ख्याल गर्दै कोही पनि नेपाली नागरिक नागरिकताविहीन हुँनुहुँदैन भन्नेमा आफ्नो दल स्पष्ट रहेको बताउनुभयो । पुनले नागरिकता ऐनमा उल्लेखित वैवाहिक अङ्गीकृत नागरिकता सम्बन्धमा आफ्नो दलले संसदमा परिमार्जनको प्रस्ताव राखेको उल्लेख गर्नुभयो ।
छिमेकी भारत र सार्क मुलुकको अनुभव र अभ्यास हेरेर अङ्गीकृत नागरिकताको प्रावधानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा उनले जोड दिए । ‘कोही पनि नागरिक नागरिकता विहीन हुनुहुँदैन ।
सरकारले समेत प्रतिबद्धता जनाएकाले सबै मिलेर अङ्गीकृत नागरिकताको प्रावधान परिमार्जन गर्नुपर्ने पुनले स्पष्ट गर्नुभएको छ ।