काठमाडौं । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले काठमाडौंको ओशो तपोवन आश्रम पुगेर ‘सन्न्यास’ लिनुभएको छ ।
तपोवनका संस्थापक स्वामी आनन्द अरुणले मन्त्र प्रदान गर्दै उहाँलाई ‘सन्न्यासी’ बनाउनुभएको हो । डा. राउत एक साताअघि ओशो तपोवन पुग्नुभएको थियो । सात दिनसम्म ध्यानमा बसेपछि उहाँ सन्न्यासका लागि योग्य बन्नुभएको हो ।
यस सम्प्रदायभित्र संन्न्यासलाई समाजबाट स्वतन्त्र हुनु भन्ने बुझिन्छ । ‘स’ ले समाजलाई र ‘न्यास’ ले स्वतन्त्रतालाई जनाउँछ । यद्यपि, सन्न्यास लिएकाहरुले घरपरिवार छोडेर बस्नुपर्दैन ।
ओशो तपोवनमा ध्यान बस्नेहरुमध्ये थोरैले मात्रै संन्न्यास प्राप्त गर्ने गरेका छन् । ध्यानका माध्यमबाट आफ्नो विचारलाई नियन्त्रण गर्न सक्ने, सही आचरणमा बस्न सक्ने तथा सांसारिक सुखबाट मुक्त रहन सक्नेहरु सन्न्यासका लागि योग्य ठहरिन्छन् । यही योग्यता प्रस्तुत गरेर डा. राउत सन्न्यासी बन्नुभएको हो ।
सन्न्यास लिनेहरुलाई स्वामी आनन्द अरुणले विशेष प्रकारको ओशोको तस्वीर अंकित लकेटसहितको माला र नयाँ नामसमेत प्रदान गर्छन् । आनन्द अरुणले अनुयायीहरुलाई सन्न्यासी बनाउने क्रममा निधार र छातीमा हात राख्ने गर्छन् । त्यस क्रममा खासगरी महिला अनुयायीहरु ग्वाँ ग्वाँ रोएको देख्ने गरिन्छ ।