Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

५ हजारभन्दा बढी नेपाली कामदार लैजान जापान तयार, कार्यविधि छिटो बनाउने सहमति

५ हजारभन्दा बढी नेपाली कामदार लैजान जापान तयार, कार्यविधि छिटो बनाउने सहमति

  • बिहिवार, श्रावण १९ २०७९

  • 952
    SHARES

  • ५ हजारभन्दा बढी नेपाली कामदार लैजान जापान तयार, कार्यविधि छिटो बनाउने सहमति

    काठमाडौं । जापानले सरकारीस्तरबाटै ५ हजारभन्दा बढी सीपयुक्त नेपाली कामदार लिनका लागि जापान तयार रहेको बताएको छ । नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्य कार्यसमितिको बैठकमा जापानले नेपाललाई छिटो कार्यविधि बनाउन आग्रह गरेको छ ।

    बैठकमा जापान र नेपालबीच नेपालमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जान तयारी अवस्थामा रहेका नेपालीहरुलाई यथाशक्य छिटो जापान पठाउने विषयमा सहजीकरण गर्ने समझदारी भएको छ ।

    कार्यसमितिको काठमाडौंमा बसेको दोस्रो बैठकले भाषा र सीप परीक्षणमा पास भएका नेपाली कामदारलाई छिट्टै जापान पठाउन ढिलाइ नगर्ने समझदारी भएको हो । बैठकमा नेपाल–जापान श्रम समझदारीपत्रमा नेपाल तथा जापानका समसामयिक कानुनी व्यवस्थाहरु समेटेर परिमार्जन गर्नुपर्ने भएमा त्यसका लागि तयारी गर्ने सहमति भएको छ ।

    जापानको (एसएसडब्लू) प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापानमा पठाउन नेपाल सरकारले निर्माण गर्नेुपर्ने कार्यविधि बनाउने समझदारी पनि भएको छ ।

    यसअघि नेपालले कार्यविधि बनाएर मन्त्रिपरिषद् लगेर पास नै गरिसकेको थियो । यो समझदारीले सरकारले बनाएको कार्यविधिलाई जापान सरकारले अस्वीकार गरेको देखिएको छ ।

    जापान सरकार त्यहाँको औपचारिक माध्यम (एसएसडब्लू) प्रणाली अन्तरगत नेपालबाट कामदारहरु उपलब्ध हुन सक्ने कुराको जानकारी रोजगारदाताहरुलाई गराउन पनि सहमत भएको छ ।

    त्यस्तै बैठकमा सूचना प्रवाह सही र छिटो छरितो बनाउनु पर्ने विषयमा पनि छलफल भएको छ । नेपालमा कानुनी रुपमा केही कुरा परिवर्तन हुँदा जापान सरकारलाई पनि जानकारी दिनुपर्ने सहमति भएको छ ।

    बैठक पछि जापानी टोलीले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरसँग पनि भेटवार्ता गरेको छ । मन्त्री कुँवरले ५ हजार बढी नेपालीहरु जापान जानका लागि तयारी अवस्थामा रहेका जानकारी गराउनुभयो ।

    उहाँले उपमन्त्री चोतुमोलाई नेपाली कामदारलाई जापान पठाउनका लागि समझदारी पत्रमा हस्ताक्षर गर्न अनुरोध गर्नुभएको छ । उहाँले दुई देशबीचको समस्यालाई सामाधान गरी मित्रवत् सम्बन्ध स्थापित गर्नुपर्ने बताउनुभयो ।

    भेटमा उपमन्त्री चोतुमोले बैठक नेपाली कामदार जापान लैजानका लागि सकारात्मक भएको बताएका छन् । उनले अहिले जापानमा कामदारको माग धेरै भएकाले (एसएसडब्लू) मार्फत ५ हजार बढी नेपाली कामदार लिनका लागि जापान तयार भएको र श्रम सम्झौतामा ढिलाइ भएकाले यो सम्झौता चाँडो होस् भन्ने आफूले चाहेको बताए । चोतुमोले नेपाली कामदारलाई जापान लैजान भइरहेका समस्या समाधान गरी रोजगारीको बाटो खुल्ला गर्न आफूले पहल गर्ने बताएका छन् ।


    बिहिवार, श्रावण १९ २०७९०७:४१:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij