काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले अवकाश पाउनुभएको छ । एआईजीको ५६ वर्षे उमेर हदका कारण पोखरेलले अनिवार्य अवकाश पाउनुभएको हो ।
सरकारले प्रहरी महानिरीक्षक (आइजिपी) मा आफूभन्दा कनिष्ठ एआईजी धिरजप्रताप सिंहलाई नियुक्त गरेको भन्दै उहाँ रिट निवेदन लिएर सर्वोच्च अदालत जानुभएको थियो । तर सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला नदिएपछि उनले २ साउनमा प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाउनुभएको थियो ।
उहाँको राजीनामा नै स्वीकृत भएन । प्रहरी महानिरीक्षकमार्फत गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट राजीनामा स्वीकृत हुनुपर्थ्यो । ‘तर उहाँ नियमित प्रक्रियाबाट अवकाशमा जानुभयो’ प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले भन्नुभयो, ‘राजीनामा स्वीकृत भएको थिएन ।’ सरकारले सिंहलाई १८ वैशाखमा प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । लगत्तै पोखरेल बिदा बस्नुभएको थियो ।
कनिष्ठलाई आइजिपी बनाएको भन्दै उनले तत्कालीन महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई एक महिना बिदा माग्नुभएको थियो । उहाँले स्वीकृत गरेको बिदा सकिएपछि पोखरेलले पुनः १० दिन बिदा माग्नुभएको थियो ।
तर प्रहरी महानिरीक्षक सिंहले स्वीकृत गरिदिएनन् । अदालतबाट पनि आफ्नो पक्षमा आदेश नआएपछि उहाँले राजीनामा बुझाउनुभएको थियो ।
सिंह आइजिपीमा नियुक्त भएपछि पोखरेलसँगै अर्का एआईजी सहकुलबहादुर थापाले पनि १० दिन बिदा लिएका थिए । तर गृहमन्त्री बालकृष्ण खाणले छलफल गरेर उहाँलाई काममा फर्काउनुभएको थियो ।